गोकुलेश्वर झरना पदयात्रा शुभारम्भ

२३ भाद्र २०८१

नुवाकोट (थानापति), भदौ १ गते । शिवपुरी-८, थानापति, नुवाकोटमा रहेको गोकुलेश्वर झरना पदयात्राको आज एक कार्यक्रमकाबीच शुभारम्भ गरियो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पर्यावरण अभियन्ता बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा उक्त गोकुलेश्वर झरना पदयात्राको शुभारम्भ भएको हो । गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिका संयोजक इन्द्रराज सेढाईको अध्यक्षतामा भएको पदयात्रा शुभारम्भ कार्यक्रममा राष्ट्र्यि समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, शिवपुरी-८ का वडाअध्यक्ष केशव रिजाल, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषाल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

पदयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष बस्नेतले प्राकृतिक सौन्दर्य, पर्यावरणको संरक्षण र धार्मिक महत्वको कारणले पनि यस झरनाले आन्तरिक तथा बाह्य पर्यटक तान्नमा मद्दत गर्ने कुरा बताउनुभयो ।

आपूm पर्यावरणको संरक्षण र प्राकृतिक सम्पदाको विकासमा लागेकाले स्थानीय आय आर्जनसँग जोडेर गरिने यस्ता प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षण र विकासमा सधैं सहयोग गर्ने कुरा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले बताउनुभयो । उहाँले सडक मार्गको पहुँचबाट नजिकै रहेकोले पनि यस झरनामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन धेरै हुने कुरा बताउनुभयो ।


मूलसडकबाट झरनासम्म जाने पदमार्गलाई व्यवस्थित सहज बनाउने, नुहाउने कुण्डको व्यवस्था र स्थानीय उत्पादनमा जोडदिँदै खाजा तथा खाना खाने होटेल तथा पसलको स्थापना गर्नसके सबैखाले पर्यटकहरूको आवागमन बढ्ने कुरा निश्चित रहेको राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले बताउनुभयो ।

शिवपुरी-८ का वडा अध्यक्ष केशव रिजालले स्थानीय जनसमुदायको उत्साह र अग्रसरमा हुने हरेक विकास निर्माण र सामाजिक कार्यहरूमा वडाको साथ र सहयोग रहने बताउनुभयो ।

प्राकृतिक सौन्दर्य र धार्मिक तथा पौराणिक किम्बदन्तिसमेत जोडिएकोले यो झरना आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द बन्नसक्ने गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिका संयोजक इन्द्रराज सेढाईले बताउनुभयो ।

काठमाडौंको सामाकोशीबाट करिब २० किलोमिटर जतिको दुरीमा नुवाकोटको काफलडाँडा, शीतलपाटी नजिकै रहेको गोकुलेश्वर झरनासम्म जानको लागि स्थानीयहरूको पहलमा पदमार्ग निर्माण, झरनाको व्यवस्थापन र शिवमन्दिर स्थापना गरेसँगै सर्वसाधारणको आवागमन तथा चहलपहल सुरु भइसकेको गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिका सदस्य बिनोद पाण्डेले बताउनुभयो ।

नुवाकोटको शिवपुरी-८, थानापति, काफलडाँडा, शीतलपाटी नजिकै रहेको गोकुलेश्वर झरना प्राकृतिक र पौराणिक रूपले प्रशिद्ध रहेको छ । ऐतिहासिक किम्बदन्ति अनुसार यसको धार्मिक महत्व अझ बढी रहेको पाइन्छ । यसको हामी सबै मिलेर प्रचार-प्रसार गर्नु आवश्यक देखिन्छ ।

परापूर्वकालमा यो ठाउँ जङ्गलले ढाकिएको भिरपाखो थियो रे !त्यस बखत यस ठाउँको वरपर सालधूप, गोकुलधूप खुब पाइन्थ्यो रे ! शिवजीलाई मन पर्ने भएकोले शिवगणहरू कैलाशदेखि बेलाबेलामा यहाँ गोकुलधूप लिन आउँथे रे ! एकपटक धूप लिन आएको बेला उनीहरूलाई पानीको ज्यादै प्यास लागे छ । प्यासले इन्तुनचिन्तु भएपछि सबै मिलेर शिवजीको प्रार्थना गरेछन् । आफ्ना गणको प्रार्थना सुनेर शिवजी तत्काल आई पहरोभन्दा केही माथि भित्तोमा गई आफ्नो त्रिशूलले भित्तो फोरी पानी निकालेर शिवगणलाई ख्वाएको भनाइ छ । शिवजी अन्तध्र्यान हुनुभएपछि फेरि फेरि आउँदा पनि पानी नसुकोस भनी उनै शिवगणले गोकुलेश्वर महादेवको स्थापना गरी गएको भनिन्छ । कालन्तरमा बाढी, पैरो, जङ्गलले ढाक्दै गएर त्यसको अस्तित्व लोप भएको हो भन्ने बुढापाकाहरूको भनाइ रहेको पाइन्छ । आज पनि त्यस वरपर गोकुलधूपका बिरुवाहरू पाइन्छन् । जसको कारण यो छाँगाको नाम गोकुलेश्वर झरना रहनगएको हो, भनिन्छ ।

त्यस्तै अर्को किम्बतन्ति अनुसार गोकुलवासी भगवान् श्रीकृष्णले त्यस झरनामा आई नुहाएको र तत्पश्चात् त्यस वरपर गोकुलधूपहरू उम्रेकोले कालान्तरमा त्यसको नाम गोकुलेश्वर झरना रहनगएको भन्ने भनाइ छ ।

शिरमा चैजु नारायणस्थान, पाउमा घट्टेदेवी पञ्चकन्यामाई, पूर्वमा कुम्भेश्वरीदेवी, पश्चिममा थानापति माता र समीपमा गोकुलेश्वर महादेव साक्षी बसेको यस पवित्र भूमिमा बग्ने स्थानीय घट्टेखोलाको यो मनोरम झरनामा नुहाउँदा छालाका रोगहरू नलाग्ने, सुगरका बिरामीलाई सञ्चो हुने, चिसो, पिनास जस्ता रोगहरूबाट मुक्ति पाइने र गोकुलेश्वर महादेवको पूजा र दर्शनले सन्तान प्राप्ति हुने, पारिवारिक कलह हट्ने, मनोकांक्षा पूरा हुने जस्ता जनविश्वास र जनश्रुतिहरू रहिआएका छन् ।

प्रतिक्रिया दिनुहोस्: