
काठमाडौं, असार २८ गते शनिबार । जनसाहित्यिक सङ्घ, नेपालको आयोजनामा साहित्यकार खेमराज निरौलाद्वारा लिखित ‘नयाँ युगका नयाँ कुरा’ कथासङ्ग्रहको लोकार्पण तथा परिचर्चा सम्पन्न गरियो ।
प्रा.डा.जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा माननीय मेनका पोखरेल, महासङ्घका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी र प्रा.डा.देवी नेपाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
उपस्थित सम्पूर्ण विद्वत व्यक्तित्वलाई सङ्घकी कोषाध्यक्ष गीता सापकोटाले स्वागत गर्नुभएको थियो । विशेष समारोहका प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले सामूहिकरूपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
लोकार्पित ‘नयाँ युगका नयाँ कुरा’ कथासङ्ग्रहको सहप्रा.गोपाल न्यौपानेले चर्चा गर्नुहुँदै ‘जीवनको खोजीमा’, ‘मदन शोककाव्य’, ‘क्रान्तिदूत’ महाकाव्य हुँदै योसमेत गरी पाँचओटा कृति प्रकाशित गरिसक्नुभएको छ । लोकार्पित कथासङ्ग्रहमा चौधओटा कथा सङ्ग्रहित छन् । एक बसाइमा पढिसकिने विधा कथा हो । कथामा हामी बाँचेको युग, परिवेश चित्रित हुन्छ । कथाकार सर्वदर्शी, समदर्शी र सीमितदर्शी हुन्छ । यहाँ कथाकार तीनैओटा रूपमा प्रस्तुत भएका छन् । सबै कथाहरू समसामयिक यथार्थमा आधारित छन् । प्रायः कथामा दृश्यात्मकता पाइन्छ र कतै कतै सुमधुर शृङ्गार पनि आएको छ । सङ्ग्रहमा केही भाषिक त्रुटि देखिन्छन् र कतै सङ्गति पनि बिग्रेको छ । समग्रमा कथाकार खेमराज निरौला सफल देखिन्छन् भन्ने धारणा राख्नुभयो ।
अर्का चर्चाकार डा.हरिप्रसाद सिलवालले यो सङ्ग्रहका कथामा कथाकार खेमराज निरौलाको कविव्यक्तित्व हाबी भएको देखिएको छ । कथाका शीर्षक, पात्रहरू नै काव्यात्मक छन् । कथाहरू निबन्धात्मक छन्, तर्कशील छन् । पात्रहरू अनुप्रासमय छन् । परिवारको आदर्श र संस्स्कार भत्काएको कुरालाई नयाँ भनेर व्यङ्ग्य गरिएको छ । विसङ्गति, विकृति, निराशाजस्ता समसामयिक यथार्थको चित्रण कथामा गरिएको छ । कथामा यथार्थवाद, आलोचनात्मक यथार्थवादको चित्रण गरिएको भए पनि प्रायः कथाले यथार्थ नै देखाएर यथार्थमै टुङ्गिएको देखिन्छ । कथाहरू सहज र बोधगम्य रहेका छन् । सम्पूर्ण कथा नेपाली समाजकै उपज हुन् । समयगत परिवेश ५०–६० वर्षको रहेको छ । सबै कथाले पारिवारिक, सामाजिक, राजनीतिक विकृतिलाई उजागर गरेका छन् । कथा घटनाप्रधान छन् र सुस्ंस्कृत समाजको कथाले परिकलपना गरेका छन् भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले नयाँ जीवन प्राप्त गरेर पनि पाँच पाँचओटा कृति त्यसमा पनि भीमकाय महाकाव्य नै प्रकाशित गरिसकेका खेमराज निरौला जोदाहा स्रष्टा हुन्, श्रद्धा गरिनुपर्ने व्यक्तित्व हुन् । आजको यो विशेष समारोह उनै स्रष्टाको कथासङ्ग्रह लोकार्पण तथा परिचर्चाका निमित्त आयोजना हुनु झनै महत्त्वपूर्ण र सार्थक काम भएको छ । अहिलेको समय भनेको नयाँ पुस्ताका लागि के लेख्ने ? भन्ने सोच्नुपर्ने समय हो । जे छ त्यही लेख्ने, आलोचना लेख्ने र आदर्श सिकाउनेगरी लेख्ने भन्ने तीन प्रकारका यथार्थ हुन्छन् । कतै कतै आदर्शको वा दिशानिर्देश नपुगेको हो कि भन्ने पनि देखिएको छ । काव्य र निबन्धले कथालाई थिच्यो कि ? भन्ने पनि देखियो । कतै कतै बढी वर्णनात्मकता पनि देखियो तर पनि कथा पठनीय, सुबोध्य र स्पष्ट छन्, विचारको अलमल कतै देखिँदैन । राम्रा पात्र र विषयवस्तुको चयनका माध्यमबाट वर्तमानका भोगाइको जीवन्त चित्रण गरिएको छ त्यसैले आजको यो विशेष समारोह सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
कथाकार खेमराज निरौलाले आफ्नै विगतले आज मलाई बोल्न कठिन भइरहेको छ । मेरी जीवनसङ्गनी अर्धनारीश्वर साबित भएकी छिन् र उनकै प्रेरणाले यो कथासङ्ग्रह प्रकाशित हुनसकेको हो । सबैले मलाई माया गरेर आजको यो विशेष समारोहमा उपस्थित भइदिनुभएर मलाई थप प्रेरणा प्राप्त भएको छ । यसपछि अर्को एउटा महाकाव्य तयारी अवस्थामा पुगेको छ । आजको यो कथासङ्ग्रहका पात्र र परिवेश चाहिँँ हामीले भोगेको नेपाली समाज नै हो । मेरो ध्येय पनि आलोचनात्मक यथार्थवाद नै हो भन्ने ठानेको छु, भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्: