काठमाडौं । नेपाली हास्यव्यङ्ग्यको सम्वर्द्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा सम्मानित गर्ने भएको छ ।
त्यसै गरी वरिष्ठ हास्यव्यङ्ग्य कलाकार तथा कवि डम्बर घिमिरेलाई श्रीप्रशन्नमूर्ति फित्कौली सम्मान (२०८२) अर्पण गर्ने जानकारी दिइएको छ ।
पुरस्कारकार रकम पुरस्कारमै सदुपयोग होस् भन्ने अभिप्रायले फित्कौली अनलाइन मिडिया मार्फत स्थापित अक्षयकोशबाट हास्यव्यङ्ग्य क्षेत्रमा विशिष्ट योगदान दिँदै आएका स्रष्टालाई हरेक वर्ष नगद रकमसहित सम्मान एवं पुरस्कार अर्पण गर्ने प्रवन्ध मिलाएको छ ।
फित्कौली डटकमका सम्पादक तथा सञ्चालक नरनाथ लुइँटेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार २०८२ का लागि ‘गोविन्द–विजया–फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य प्रतिभा पुरस्कार’ माणिकरत्न शाक्य (काठमाडौं)लाई र ‘फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य निबन्ध पुरस्कार’ पोखराका हास्यव्यङ्ग्यकार शेषराज भट्टराईलाई समर्पण गरिने भएको छ ।
त्यसैगरी २०८२ को ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार’ छन्दका व्यङ्ग्यकवि डिल्लीप्रसाद मूलतिहुुन (ओखलढुङ्गा) र ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुुढ्यौली साहित्य पुरस्कार’ बुढ्यौली विषयक साहित्य सिर्जनाम सक्रिय कविराज घिमिरे (भक्तपुर) लाई समर्पण गर्ने निर्णय गरिएको छ ।
श्रीप्रशन्नमूर्ति फित्कौली सम्मानद्वारा सम्मानित डम्बर घिमिरेलाई सम्मानपत्र र नेपाली ढाकाटोपी र दोसल्ला अर्पण गरिने छ भने हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई नगद रु. २०१०५।–, सम्मानपत्र र दोसल्ला अर्पण गरिने छ । पुरस्कृत हास्यव्यङ्ग्यकार व्यक्तित्वहरू माणिकरत्न शाक्य, शेषराज भट्टराई, डिल्लीप्रसाद मूलतिहुन र बुढ्यौली विषयको लेखनमा सक्रिय कविराज घिमिरेलाई जनही नगद रु १५१०५।– र सम्मानपत्र समर्पण गरिने छ ।
फित्कौली अनलाइन मिडियामार्फत स्थापित र व्यवस्थित यी सम्मान र पुरस्कारद्वारा यस वर्ष सम्मानित एवम् पुरस्कृत व्यक्तित्व चयनका लागि चट्याङ मास्टरको संयोजकत्वमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे एवम् प्रा.डा. मुकेशकुमार चालिसे रहनु भएको छनोट समिति बनेको थियो । विज्ञप्तिमा भनिएको छ– सम्मानित र पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उपर्युक्त नामहरू सर्वसम्मत रुपमा चयन गरी सिफारिस गरेको थियो ।
सम्मान र पुरस्कार आगामि भाद्रमा फित्कौलीको वार्षिकोत्सवका अवसरमा आयोजना गरिने समारोहमा समर्पण गरिने छ ।


प्रतिक्रिया दिनुहोस्: