शिवपुरीका एसईई उत्कृष्टहरूलाई प्यारामाउण्डमा सम्मान

४ भाद्र २०८२

काठमाडौं, साउन ९ गते शुक्रबार । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाबाट एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ११ विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरिएको छ । काठमाडौंको टोखा नगरपालिकास्थित बानियाँटारमा रहेको प्यारामाउण्ड स्कुल तथा कलेजको आयोजनामा शिवपुरी गाउँपालिकामा रहेका ११ माध्यमिक विद्यालयका एक एक जना छात्र र छात्रालाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य तथा विद्यालयका अध्यक्ष जगदीश्वरनरसिंह केसीले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो । विद्यार्थीरुलाई नगदसहित सम्मानपत्र र खादासहितले सम्मान गरिएको थियो । साथै सोही विद्यालयका शिक्षकहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो । विद्यालयका प्रिन्सिपल मुकुन्द पाण्डे र निर्देशक प्रमोद पाण्डेले हरेक वर्ष आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा आफ्नो जन्मथलोमा रहेको शिवपुरी गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सम्मान गर्दै आउनुभएको छ ।
विगतका वर्षहरूमा पालिकाभित्रबाट उत्कृष्ट ल्याउने एक जना छात्र र एकजना छात्रालाई सम्मान गरिदै आएकोमा यस वर्षबाट भने गाउँपालिकाभित्र रहेका ११ ओटा माध्यमिक विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउने एकजना छात्र र एकजना छात्रालाई सम्मान गरिएको प्रिन्सिपल पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि केसीले धेरै छोराहरूमध्ये कमैले मात्रै यस्ता पवित्र कार्यहरू गर्छन् भन्नुहुँदै पाण्डे दाजुभाइप्रति सम्मान व्यक्त गर्नुभएको थियो । उहाँले प्यारामाउण्ड स्कुलले उत्कृष्ट र गुणस्तरीय नतिजा ल्याउन सफल हुनुमा विद्यालय, विद्यार्थी र अभिभावहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल मुकुन्द प्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल शिक्षक संघ नुवाकोटका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता गणेण सिटौला, शिवपुरीका पूर्व जनप्रतिनिधि माधव भेटुवालसहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, पत्रकार, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा अतिथिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थी तथा कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन प्रदान गरेका थिए । यस्तै कार्यक्रममा उक्त विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई पनि सम्मानसहित बिदाई गरिएको थियो । उक्त विद्यालयलबाट यसवर्ष एसइई उत्तीर्ण ४३ जना विद्यार्थीमध्ये १ जनाले ४ जिपिए, १९ जनाले ए प्लस, १९ जनाले १ र २ जनाले बी प्लस ल्याएर उत्कृष्ट नतिजा दिलाउन सफल भएको विद्यालयले जनाएको छ । कार्यक्रममा उक्त विद्यालयबाट ४ जिपिए ल्याउने आतिश सिंहलाई रु. ५० हजार बराबरको ल्यापटप समेत प्रदान गरिएको थियो ।

गोँगबुँ, बानियाँटारमा रहेको उक्त पारामाउण्ट एकेडेमी/पीए कलेजले कक्षा ११ मा यो वर्षका लागि पनि सहुलियत दरमा विज्ञान, व्यवस्थापन र कानुन विषयमा भर्ना खुलाएको छ । साथै कलेज प्रशासनले नुवाकोटका विद्यार्थीहरूलाई विशेष छुट प्रदान गरिने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: