
काठमाडौं, साउन १७ गते । सुरभि साहित्य प्रतिष्ठानको १७ औँ साधारण सभा तथा १७५ औँ आख्यानवाचन कार्यक्रममा चार जना कथाकारहरूलाई पुरस्कारले सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गो.न.पा. वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ र नरेन्द्रराज पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नवराज रिजाललाई सुरभि अच्युतराम चालिसे लघुकथा पुरस्कार, शारदा पराजुलीलाई सुरभि प्रह्लाद नारी आख्यान पुरस्कार, दिवाकर न्यौपानेलाई सुरभि वेदमणि आख्यान प्रतिभा पुरस्कार र गोपीराम भण्डारीलाई सुलेख आख्यान प्रतिभा पुरस्कारले सम्मान गरिएको थियो । प्रत्येक पुरस्कारको राशि रु.१०,०००।– रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दीपककुरमार रिसालले यस्ता कार्यक्रमले नगरपालिकाको नाम उच्च बनाएको भन्दै यस्तै कार्यक्रम गरी नेपालभरिका व्यक्तिहरू यो नगरपालिकामा आउने वातावरण बनाउने कार्यका लागि नगरपालिकाले सहयोग गर्ने कुरा बताउनुभयो ।
वक्ता युवराज मैनालीले सुरभिको संरक्षक भएका नाताले सुरभिलाई केही सुझाव दिँदै प्रतिभा चयनमा यस पटकको समितिले सराहनीय काम गरेको बताउनुभयो ।
विशेष अतिथि गोविन्द घिमिरे वेदमणिले सुरभि साहित्य प्रतिष्ठानले हरेक क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताउनु हुँदै पुरस्कारका लागि प्रतिभा छनौट गर्दाका समयमा भएका गाराअप्ठ्यारा कुराहरू बताउँनुभयो ।
नरेन्द्रराज पौडेल र ठाकुर शर्माले पुरस्कृत व्यक्तिहरूलाई बधाई दिँदै आख्यानको क्षेत्रमा सुरभिले एक्लै गतिलो कार्य गरेको समेत बताउनुभयो ।
कार्यक्रममा पुरस्कृत तीन जनाले कथावाचन गर्नुभयो भने नवराज रिजालले पुरस्कृत व्यक्तित्वहरूको तर्फबाट मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहसचिव मेनका पोखरेल आचार्यले दिनुभएको थियो भने सञ्चालन सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रमको प्रथमसत्रमा संस्थाको १७ औँ साधारण सभा भएको थियो । साधारण सभामा अध्यक्षको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन माथि छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: