काठमाडौं, भदौ १४ गते शनिबार । अविरल जनसाहित्य यात्राको १०२ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका झापाका प्रगतिवादी स्रष्टा परशुराम पराशरका एक दर्जन कविता सुनिएका छन् ।
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने सचिवालय सदस्य गोपालकुमार मैनालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने सङ्घका सचिव सोमनाथ दाहालले कविनायकको परिचय दिँँदै वि.सं.२०२० सालमा झापा जिल्लाको हालको गौरादह नगरपालिका वडा नं.७ जन्मिएका परशुराम पराशरले निरन्तर साहित्यसाधना गरिरहनुुभएको छ । शिक्षण पेसामा रहेका पराशरका ‘परिचय’ कवितासङ्ग्रह २०६६, ‘नवरत्न’ संयुक्त जीवनीसङ्ग्रह २०६७, ‘सावधान’ लघुकथासङ्ग्रह २०८१ प्रकाशित भएका छन् भने प्रकाशोन्मुख अवस्थामा करिब आधा दर्जन विभिन्न विधाका कृति रहेका छन्, भन्नुभयो । सत्यालले आज नेपाली कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, साहित्यिक सङ्घसंसथामा क्रियाशलिता देखाइरहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा परशुराम पराशरलाई प्रस्तुत गरिएको छ, भन्नुभयो ।
कविनायक परशुराम पराशरले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै उपजाति छन्दको ‘परिचय’ शीर्षकको, पञ्चचामर छन्दको ‘युवा उठौँ’ शीर्षकको, मन्दाक्रान्ता छन्दको ‘शान्तिको गीत लेखौँ’ शीर्षकको, मालिनी छन्दको ‘देश खाए किराले’ शीर्षकको र शार्दूलविक्रीडित छन्दको ‘मेरो भुँडी’ शीर्षकका सुन्दर, सशक्त र वैचारिक कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू कृष्णप्रसाद पौडेल जस्ताघरेले शार्दूलविक्रीडित छन्दको ‘नेपाल सर्वोपरि’ शीर्षकको, चेबन वस्नेत ठुलाघरेले अनुष्टुप् छन्दको ‘राजनीतिक कोटा’ शीर्षकको, डिल्लीप्रसाद मुल्तिउनले अनुष्टुप् छन्दको ‘चाहना’ शीर्षकको, नारायण निरासीले शार्दूलविक्रीडित छन्दको ‘नेता नबन्ने मता’ शीर्षकको, विपी इलामेले मन्दाक्रान्ता छन्दको ‘सिर्जना गर्नपाऊँ’ शीर्षकको, मेनका आचार्य पोखरेलले मालिनी छन्दको ‘मेरो देश’ शीर्षकको र शारदा पराजुलीले उपजाति छन्दको ‘धराको कविता’ शर्षिकका त्यत्तिकै सुन्दर, सशक्त र रूपान्तरणको सन्देश बोकेका कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणीसमेत गर्नुहुँदै प्रमुख अतिथि डा.फणीन्द्रराज निरौलाले देशको माटो, परिवेश, नेपाली जनताका भोगाइ उहाँका कवितामा आएका छन् । कवितामा नेताको पहिरन सफा तर मन कालो बिरालाको जस्तो भनेर मर्मान्त प्रहार गरिएको छ । कविताको एउटै पङ्क्तिमा कविले नेपाली जनताले बाँचेको दुर्दशापूर्ण अवस्थाको सुन्दर चित्रण गर्नुभएको पाइन्छ । सबै क्षेत्रका विकृतिलाई कवितामा बडो मजाले चित्रण गरिएको छ । भ्रष्टाचार, अशान्ति, सेवाभावको अभाव जनताले भोगुन्जेल र नेतृत्वले आफ्नो आचरणमा सुधार नगरुन्जेल देशको हित हुनसक्तैन । नेता, उनीहरूमा विद्यमान रहेको सामन्ती सोचका प्रति सशक्त व्यङ्ग्य कवितामा गरिएको छ । प्रायः कविताले हाम्रा नेता बेइमानका प्रतीक साबित भएका छन् भन्दै कडा व्यङ्ग्य गरिएको छ । कविताले शान्तिको गीत लेख्ने चाहना राख्नुका साथै सत्ममार्गमा सबैले चल्ने हो भने समुन्नत समाज निर्माण हुने अपेक्षा पनि कवितामा गरिएको छ, भन्नुभयो ।
समारोहमा सबैलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले आगामी कार्यक्रमको लागि सबैमा निम्तासहित अध्यक्षको अनुमतिले कार्यक्रमको समापन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: