प्राज्ञ चेतनाथ धमला।
काठमाडौँ, भदौ १६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्समा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ का उत्कृष्ट दस जना कविलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन, शीतल निवासमा जनही रू. ४० हजार र कदरपत्र समर्पण गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले “मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, सांस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य” रहेको बताउनु भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का उत्कृष्ट दस कविहरूलाई पुरस्कार समर्पण गर्दै उहाँले “नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो” भएको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘संसारको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि अनि कहिल्यै पराधीन नभएको स्वाधीन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा- प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ ।’’ राष्ट्रपति पौडेलले “नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व” पनि नेपाल प्रज्ञा- प्रतिष्ठानकै भएको बताउँदै प्रज्ञा-प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक बहन गर्न सक्षम र सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्मानित कविहरूमा सिराहाका अविनाश भट्टराई, मोरङका कर्ण सञ्जय, मकवानपुरका किशन पौडेल, लमजुङकी गोमा श्रेष्ठ, नवलपरासीका चन्द्रमणि चापागाईं, रुकुम पश्चिकी तुलसी केसी, मकवानपुरकी मिरमा (रमा सुवेदी), सुनसरीका शमुएल कोइराला, ललितपुरका सन्ध्या महर्जन र चितवनको सिर्जन अविरल हुनुहुन्छ ।
कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले राष्ट्रिय कविता महोत्सवको प्रथम ,द्वितीय र तृतीय गरी ५ जना पुरस्कृत हुने ढाँचालाई परिवर्तन गरेर उत्कृष्ट दस छनौट गर्ने प्रकृया अपनाएका हौँ ।यसमा ५ जना नेपाली भाषा र ५ जना मातृभाषाका कविका कविता पुरस्कृत हुँदै आएका छन् । यसबाट कम्तीमा पनि समावेशी र सहभागितामूलक ढङ्गले कविहरूको प्रतिनिधित्व रहने बताउनुभयो। राईले नेपालका सबै भाषाभाषीका कविहरूलाई समानतापूर्वक व्यवहार गर्ने बताए।
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य पद्य /काव्य विभाग प्रमुख बाबा बस्नेतले स्वागत मनतव्यका क्रममा राष्ट्रिय कविता महोत्सव २०८२ मा इमेल र प्रत्यक्ष गरी ७८० वटा कविता प्राप्त भएका र त्यसबाट प्रकृयागत छनौटबाट उत्कृष्ट १०वटा कविता छानिएको बताइन्। यस्ता महोत्सवले प्रतिभाहरूलाई सशक्त र ऊर्जाशील बनाउने धारणा व्यक्त गरिन् ।
कार्यक्रमको उद्घोषण गर्दै प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले प्राज्ञिक समृद्धि, भाषा, साहित्य र संस्कृतिको विकासमा प्रतिष्ठानले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै २०२२ देखि हुँदै आएको कविता महोत्सवको प्रभावले राष्ट्रियस्तरमै थुप्रै सशक्त र प्रतिनिधिमूलक कविहरू देखा परेको चर्चा गर्नुभयो।


प्रतिक्रिया दिनुहोस्: