साहित्य
हर्दम सेवा गर्दछ बाहु ।
तार्दछ आँटी सागर नाउ ॥
कर्मठ बाँच्छन् स्वेद बगाई ।
सार्थक पारौँ जीवनलाई ॥१॥
चञ्चल बानी हुन्छ नराम्रो ।
सेवक बन्ने आदत राम्रो ॥
कल्कल गर्दै बग्दछ गङ्गा ।
बन्दछ आफ्नै जीवन चङ्गा ॥२॥
चेतन छर्दै घुम्दछ देश ।
साँच्नुछ आफ्नै आत्म स्वदेश ॥
व्यर्थ नफालौँ याम र चोयो ।
फूलसरीको जीवन हो यो ॥३॥
सूर्य उदाए झल्मल धर्ती ।
ईश उनै हुन् पुज्नुछ मूर्ति ॥
चिन्तन गर्ने आदत राम्रो ।
सार्थक पारौँ जीवन हाम्रो ॥४॥
दोष थुपारी चोखिन छाडौँ ।
स्नेह सबैमा निर्मल बाडौँ ॥
हर्षित बन्दै दैनिक नाचौँ ।
आदर गर्दै जीवन साँचौँ ॥५॥
छन्द : चम्पकमाला – भमसगु, ५ मा विश्राम ।
पाउँदीबजार, लमजुङ
सम्प्रति : विष्णुदेवी आवास, सतुङ्गल, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: