शुभकामना !

६ आश्विन २०८२

हरेक वर्षझैँ यो वर्ष (२०८२ साल) को विजयादशमी हाम्रो घर–आँगनमा आइसकेको छ । हाम्रो शास्त्रमा आश्विनशुक्ल दशमीको सन्ध्याकालको समयलाई सबै कार्यमा सिद्धि प्रदान गर्ने विजयकाल भनिन्छ । आश्विनशुक्ल पक्षमा सूर्योदयको समयमा यदि दशमी देखिन्छ भने विद्वानहरूले त्यसलाई विजया भन्दछन् । रामायण अनुसार श्रीरामले रावण मारी लङ्का विजय गरेको दिन भएर आविश्नशुक्ल दशमीलाई विजयादशमी भनिएको हो ।

हामीभित्रको चेतनाको जागरण र विषयको त्याग नै दशैंको मुख्य सन्देश हो । रामलाई आत्मा मान्दा दश इन्द्रिय अथवा काम, क्रोधादि दश दुर्गुणहरूलाई विजय गर्नु नै विजयादशमीको उद्देश्य हो । शक्तिको उपासना गर्नु नै दशैँको पूजा आराधना हो । रावणरूपी खराब आचरण र व्यवहारबाट समाजलाई मुक्त गरेर आफूभित्रको चेतना र उर्जाको ज्योति बाल्ने रामरूपी सत् व्यवहारको पर्व हो दशैं । विजयादशमी पर्वले हामीलाई दस महापापबाट बच्ने, बचाउने सन्देश दिएको छ । विजयादशमीले हामीलाई काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, अहंकार, आलस्य, चोरी र हिंसा जस्ता खराब आचरण र व्यवहारबाट बच्ने प्रेरणा र ऊर्जा दिन्छ ।

मनोरञ्जन, रामरमिता र हाँसोखुशीका सत्य सन्देशलाई प्रत्येक व्यक्तिमा पुर्‍याउनु पनि यस पर्वको मुख्य लक्ष्य हो ।

विजयादशमीलाई राम–रावणको युद्धको रूपमा मात्र हेरिनुहुन्न । दशैँले खराबमाथि असलको विजय, असत्यमाथि सत्यको विजय जस्ता प्रतीकात्मक सन्देश दिएर समाजलाई सकारात्मक बाटोतिर हिँडाइरहेको पनि छ । यसले मन विचार र चित्तलाई उज्यालोतिर डोर्‍याइरहेको छ, भन्ने कुरा पनि बुझ्नुपर्दछ । विद्वान र बलवान् भैकन पनि रावणलाई आफ्नो घमण्ड र अहम्‌ले पतनको बाटोमा लग्यो र अन्त्यमा मृत्युको अवस्थामा पुर्‍यायो । विजयादशमी मनाइरहँदा आफूभित्रको यस्तै खराबी र अहंकारलाई त्याग्ने तत्परता हामीले देखाउन सक्नुपर्दछ ।

अर्कोतर्पm विजयादशमी मनाउने मुख्य कारण आफ्नो धर्म, संस्कृति, परम्परा मान्दै र मनाउँदै जानु र त्यसै अनुसार सद्व्यवहार गर्नु हो । अनि आफूभित्र रहेको अहम् र घमण्डको त्याग गर्दै जीवन जिउन सिक्नु पनि हो । स्वस्थ, मस्त र आनन्दले दशैँ मनाउँन सबैमा हार्दिक अनुरोध छ ।

विजयादशमी तथा शुभदीपावली – २०८२ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ !

प्रतिक्रिया दिनुहोस्: