कविता

मनाउँछु दशैँ जन्मघरतिर

१७ आश्विन २०८२
पूर्व सेनानी टंकबहादुर बजगाई खत्री

जन्मघर सबैभन्दा ठूलो रै’छ ठान्छु
बयासीको दशैँ मान्न जन्मघर जान्छु ।
विदेशमा बस्ने पनि आउनु है घर
सधैंभर विदेशकोहुँदैन नि भर !

दशमीको टीका थाप्न कुलघर जान्छु
दाजुभाइ चेलीबेटी सङ्गै बसिखान्छु ।
उच्चशिक्षा लिन्छु भनी शहरमा आएँ
रवाफिलो शहरिया भएर नै खाएँ ।

शहरको रमझम पिर मात्र भुलेँ
जन्मघरतिर मेरा बल्ल आँखा खुले ।्‌
धान फल्ने गैरीखेत ठूलापाटा बारी
घरमुनि बगैँचामा सुन्तलाका घारी ।

चारैतिर हरियाली सुन्दर छ ठाउँ
गाउँबेसी रमाइलो मेरो प्यारो गाउँ ।
गाउँतिरै रमाएर पार्छु ठाडो शिर
मनाउँछु वडादशैँ जन्मघरतिर ।

बनेपा–३, नाला, काभ्रे
हाल : वसुन्धरा, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: