गजल

गजल

२० आश्विन २०८२
यशोदा अधिकारी

हरियाली मिसिएको उदाउँदो त्यो घाम आयो
पुज्न थाले नारी शक्ति दशैँको यो याम आयो ।

लहलह बालीनाली घर भित्र पसेपछि
टीका अनि जमरा र आशीर्वादको दाम आयो ।

परदेशी घर फर्के गाउँभरि खुसी छायो
इष्टमित्र भेटघाट आफन्तको नाम आयो ।

मीठो खान, राम्रो लाउन दशैँ आउने चलन
शहरको व्यस्त जीवनभित्र सानो काम आयो ।

दशैँ आउदा हटिजाने तिक्तताका पाटाहरू
सम्बन्ध झन् गाढा हुने मायाको त्यो खाम आयो ।

मिलनको पर्व हो यो संस्कृतिको गौरव पनि
जहाँ जहाँ नेपाली छन्, त्यहाँ दशैँको याम आयो ।

गोँगबुँ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: