सुख, शान्ति बनिआओस् घरघरमा बडादशैँ
मनाउन सबले पाऊन् घरघरमा बडादशैँ
माता दुर्गा भवानीले रक्षा गरून् सबैलाई
दुःख सबै हरिजाओस् घरघरमा बडादशैँ । १।
के दशैँ ? के तिहार ? गरिबको घरघरमा
दुःख हुन्छ अपरम्पार गरिबको घरघरमा
नआएकै वेश बरु दशैँ तिहार चाडहरू
अनिकालले पर्दा मार गरिबको घरघरमा । २।
कालो बादल फाटेर सुन्दर बिहानी छायो फेरि
हर्ष र उमङ्गको चाड प्यारो दशैँ आयो फेरि
सनातन धर्म हाम्रो चाड, पर्व मनाउन
गाउँघरमा चहलपहल दशैँ आयो फेरि । ३।
सुख, शान्ति, समृद्धिको गीत गाउन पाइयोस्
आपसमा आदर, सम्मान र प्रेम भाव जगाउन पाइयोस्
हाम्रो सान हो, पहिचान हो, चाड्पर्व अनि संस्कृति
शिष्ट र सभ्य हुँदै दशैंको मर्म बचाउन पाइयोस् । ४।
दुःख पीडा भुलेर नि रमाउनू है यो दशैँमा
रातो माटो कमेरोले घर सजाउनू है यो दशैँमा
नवदुर्गाले रक्षा गरून् शान्ति छाओस् सबैमा
कामना छ केही विशेष बनाउनु है यो दशैँमा । ५।
तारकेश्वर–११, नेपालटार, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: