केटाकेटी रमाएछन् दशैँ आउने कुराले
आमाले पकाएको मीठो खाने सुरले ।
राम्रो लाउँला मीठोमीठो खाउँला भन्दै रमाए
बाबासँग म्याँ किन्न जाउँला भन्दै रमाए ।
भाइबैनी बटुलेर साथी साथी भएर
पूजा गर्छु भन्छे छोरी मन्दिरमा गएर ।
धूपबत्ती, टीका, प्रसाद हातमा थाली समाउँछे
फूलबारीका राम्रा रङ्गी फूल टिप्दै रमाउँछे ।
टन्टा छैन पढाइको स्कुल बिदा भा’को छ
पढ्न लेख्न नपरेर साह्रै मज्जा ला’को छ ।
छुट्टीपछि परीक्षामा पास नभै हुँदैन
थुप्रेको छ गृहकार्य नगरी नि भा’छैन ।
यो दशैँमा सबैजना पिङ खेल्न खोजेका
तर गाउँमा रोटेपिङ हाल्न अचेल छोडेका ।
बरु तल्लो गाउँतिर लिङ्गे पिङ ठडियो
पिङ खेल्न रमाएर सानो भाइ दौडियो ।
मीठो खाँदै राम्रो लाउँदै दशैँ पनि सकियो
फूल बुट्टे नाना मेरो लाउँदा लाउँदै मैलियो ।
सयपत्री, मखमली फुल्न ला’को देखेर
तिहारलाई स्वागत गरेँ यो कविता लेखेर ।
बाँसबारी, काठमाडौं
हाल : अमेरिका।


प्रतिक्रिया दिनुहोस्: