काठमाडौं, असोज २५ गते शनिबार । २०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई समर्पण गरिएको छ ।
समालोचक, सशक्त कवि, निबन्धकार एवम् चिन्तक गोविन्द भट्टका नाममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्य सन्ध्यासँगको सहकार्यमा नेपाली समालोचना, दर्शन, निबन्ध र कवितामध्ये कुनै एक विधामा सशक्त रूपमा कलम चलाइरहेका एकजना साहित्यकारलाई रु.५०,०००।–(पचास हजार) राशिको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ यसै वर्षदेखि प्रदान गर्नेगरी अक्षयकोषको स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएअनुसार यस वर्षको उक्त पुरस्कार तथा सम्मान समग्र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउनुका अतिरिक्त समालोचना विधामा अतुलनीय योगदान पुर्याउनुभई महासमालोचकको उपाधि प्राप्त गर्नुभएका विशिष्ट साधक प्रा.डा.वासुदेव त्रिपाठीलाई नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिएको विशिष्ट समारोहमा अर्पण गरिएके हो ।
नेपाली साहित्यका शिखर व्यक्तित्व बैरागी काइँलाको प्रमुख आतिथ्य र नेपाली साहित्य, संस्कृतिका शिखर व्यक्तित्व र नेपाली राजनीतिसमेतका कुशल अभियन्ता डा.मोदनाथ प्रश्रितको विशिष्ट आतिथ्यमा सम्पन्न भएको उक्त विशेष समारोह साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन तथा सहजीकरण सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले र उपस्थित विशिष्ट व्यक्तित्वहरूमा स्वागत मन्तव्य सन्ध्याकी सचिव जयन्ती स्पन्दनले गर्नुभएको थियो । समारोहमा गङ्गाप्रसाद उप्रेती र पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
वरिष्ठ चिन्तक, समालोचक, कवि तथा निबन्धकार गोविन्द भट्टको व्यक्तित्वमाथि प्रा.डा.हेमनाथ पौडेलले प्रकाश पार्नुभएको थियो भने प्रा.जगत उपाध्याय ‘प्रेक्षित्’ले प्रा.डा.वासुदेव त्रिपाठीलाई छनोट गरिएका आधार तथा उहाँको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।
२०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ प्रा.डा.वासुदेव त्रिपाठीलाई अर्पण गर्दै सभाध्यक्ष राम विनयले माल्यार्पण गर्नुभयो, विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले दोसल्ला ओडाएर सम्मान गर्नुभयो भने प्रमुख अतिथि बैरागी काइँलाले रु.पचास हजार राशि तथा सम्मानपत्र अर्पण गर्नुभएको थियो ।
सम्ममान अर्पण समारोहमा सम्मानित व्यक्तित्व प्रा.डा.वासुदेव त्रिपाठी, पुरस्कार संस्थापक गङ्गाप्रसाद उप्रेती, विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रित, प्रमुख अतिथि बैरागी काइँला र सभाध्यक्ष राम विनयले गोविन्द भट्टको व्यक्तित्त्व र कृतित्त्वको साथै सन्ध्याको विविध गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: