पाठकका तीन कृतिको लोकार्पण तथा परिचर्चा 

२ कार्तिक २०८२

२०८२ असोज ३१, काठमाडौं । साहित्यकार  तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकको लघुकथा ‘तेल भिसा’ र कविता ‘सम्बन्धको चुकुल’ तथा पाठकद्वारा सम्पादित ‘श्रद्धेय गणेश रसिक स्मृति अङ्क’ नारीस्वर’को लोकार्पण गरिएको छ।

साहित्यिक पत्रकार संघको आयोजनामा संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि रहनुभएको थियो भने  प्रा.डा.गोविन्दमानसिंह कार्की, उप-प्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली तथा कवि शैलेन्द्र साकारले ती कृतिहरूको परिचर्चा गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले स्रष्टा हिरण्यकुमारी पाठकको बहुआयामिक व्यक्तित्त्वको प्रशंसा गर्नुभयो। असी वर्षको उमेर पुग्नै लाग्दा पनि यस्ता कृतिहरूको सृजना हुन सकेकोमा बधाई दिँदै  उप्रेतीले  पाठकको प्राज्ञिक सफलतामा उनकी छोरी नम्रता शर्माको ठूलो योगदान रहेको बताउनुभयो।

कार्यक्रममा कवि शैलेन्द्र साकारले हिरण्य भोजपुरे र गणेश रसिक गायन क्षेत्रमा लागेर भोजपुरको लोकलयलाई गीत सङ्गीत मार्फत् चिनाउन सफल भएको बताउनुभयो । कवि साकारले मान्छे कामले बाँच्छ उमेरले होइन भन्ने उक्तिमा आफू रहेको बताउनुभयो ।

प्रा.डा.गोविन्दमानसिंह कार्कीले लघुकथाकृति’तेल भिसा’का बारेमा बोल्दै सरल भाषामा लेखिएका लघुकथाहरू समसामयिक विषयवस्तुमा आधारित रहेको, कथाहरूले सामाजिक विकृति र विसंगति मुखरित गरेका र केही कथाहरू  मनोवैज्ञानिक र ज्यादै उत्कृष्ट  पनि रहेको बताउनुभयो ।

त्यस्तै उप-प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले कविताकृति ‘सम्बन्धको चुकुल’का बारेमा बोल्दै पाठकका कविताहरू आलंकारिक भएर पनि सरल भएको र थोरै शब्दमा धेरै कुरा कवितामा उल्लेख भएको बताउनुभयो ।  कविताहरूमा राष्ट्र, राष्ट्रियता, पारिवारिक सम्बन्ध, प्रेम र समय सान्दर्भिक विषयवस्तु भएर आएको बताउनुभयो ।

कार्यक्रमका सभापति लेकालीले स्वागत मन्तव्य राख्दै जेन-जी आन्दोलनका क्रममा शहीद हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अब शोकबाट निर्माणमा लाग्नु परेको यथार्थ बताउनुभयो । उहाँले स्रष्टा हिरण्यकुमारी पाठकको व्यक्तित्व तथा कृतित्वमाथि पनि संक्षेपमा प्रकाश पार्दै बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा कवि डा.विष्णुविभु घिमिरेले शुभकामना मन्तव्य व्यक्त राख्दै हिरण्यकुमारी पाठकका कविताहरू सरल र सरस रहेको र कविताहरू आफूमाथिको फराकिलो आकाश र मैदानमा बग्ने स्वच्छ नदी जस्तै भएको बताउनुभयो ।

धन्यवाद ज्ञापन गर्दै स्रष्टा पाठककी सुपुत्री  नम्रता शर्माले कार्यक्रममा उपस्थित सबै प्रति आभार प्रकट गर्दै आमा हिरण्यकुमारीको साहित्यिक यात्राको चर्चा पनि गर्नुभेको थियो ।

कार्यक्रममा समाजसेवी शोभित उप्रेती, कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु भागिरथी श्रेष्ठ, ज्ञानु पाण्डे, मातृका पोखरेल, ठाकुर शर्मा, उमेश पाण्डे, मणि लोहनी, प्रद्युम्न जोशी, पवन आलोक, शंकर भारती, गंगा कर्माचार्य पौडेल, सन्ध्या पहाडी, उषा के. सी., निशा के. सी., विजयध्वज थापा, हरिश कल्पित,  रश्मि रिमाल लगायत को उपस्तिथि रहेको थियो ।

अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि यादव भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: