शशीका कला/संस्कृतिका तीन कृति लोकार्पण

१६ कार्तिक २०८२

काठमाण्डौं, कार्तिक १३ गते । संस्कृतिविद्, लोकवार्ताकार तथा साहित्यकार डा.शशी थापा पण्डितका नेपाली कला र संस्कृतिका तीन कृतिहरू ‘नेपाली कलामा कामकला’, ‘मल्लकालिक नेपालका नारीहरू’ तथा ‘नागार्जुन क्षेत्रको सास्कृतिक अध्ययन’ नामक कृति एकसाथ लोकार्पण गरिएका छन् । नेपाल आदर्श महिला संघको आयोजनामा होटल एल्लो प्यागोडा जमलमा आयोजित सो कार्यक्रममा संस्कृतिविद् प्रा.डा.वीणा पौडेलको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङ, प्रा.डा.पेशल दाहाल इतिहासकार तथा संस्कृतिविद् दिनेशराज पन्त लगायतले पुस्तकको लोकार्पण गर्नुभएको हो ।

लोकार्पित कृति नेपाली कलामा कामकलाका विषयमा प्रकाश पार्दै डा.जगमान गुरुङले नेपाली साहित्यिक क्षेत्रमा २०३६ सालतिर धन शमशेरद्वारा लिखित कामकला सम्बन्धी पुस्तक प्रकाशित हुँदा नेपाली पाठकहरूमा सकारात्मक सन्देश जान नसकेको तितो यथार्थ हुँदाहुँदै पनि डा.शशी जस्ता एक साहसी नारी स्रष्टाले यस्ता विषयमा साहस गरेर कृति लेख्ने आँटको प्रशंसा गर्दै तन्त्र मन्त्र र यन्त्रको बारेमा प्रकाश पार्नुभयो । धरती र आकाशको दृष्टान्त दिंदै गुरुङले कृति सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरी ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ बारे समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा.पेशल दाहालले ‘नेपाली कलामा कामकला’ विषयमा पिएचडी गर्ने जस्तो साहसिक कदम चाल्नु एक नारी स्रष्टाका लागि चानचुने विषय नभएको बताउनुभयो । उहाँले नेपालको बीजारोपण र विकासको आधार क्षेत्रका रूपमा रहेको नागार्जुन क्षेत्रको बारेमा गहन कृति पाठक समक्ष आउनु सुखद उपलब्धि रहेको बताउनुभयो । सांस्कृतिक अध्ययनका बारेमा बोल्दै लिच्छवीकालीन समयदेखि नै संरक्षित गरिएको नागार्जुन क्षेत्रका विषयमा तत्कालीन समयका कतिपय सरकारी कर्मचारीहरूलाईसमेत प्रवेशमा बर्जित गरिएको स्थानका बारेमा अभिलेखहरू समेटेर पुस्तक तयार पारिएकोमा प्रशंसा गर्नुभयो । उहाँले ऐतिहासिक, सामाजिक, सांस्कृतिक र धार्मिक अनि कतिपय किंबदन्तीलाईसमेत आधार मानेर लेखिएको कृतिले त्यस क्षेत्रको यथेष्ठ जानकारी गराउने बताउनुभयो । अलिखित सामग्री तर जनश्रुतिमा आधारित विषयवस्तुलाई स्थान दिन नसक्ने हो भने इतिहासप्रतिको न्याय हुनसक्दैन भन्दै नागार्जुन क्षेत्रका बलियो इतिहासलाई जीवन्तता दिई पुस्तक प्रकाशित गरिएकोमा बधाई एवं शुभकामना व्यक्त गर्दै कृति सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

समारोहमा अर्का विद्वान समीक्षक दिनेशराज पन्तले मल्लकालिक नेपालका नारीहरूका विषयमा डा.शशी थापा पण्डितले नेपालको कला, संस्कृति र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदान भविष्यको लागि एउटा गर्वको विषय रहने विचार व्यक्त गर्दै तत्कालीन समयका नेपाली नारीहरूका सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक पाटोमा मिहिन ढङ्गले अनुसन्धान गरी इतिहासप्रतिको न्यायिक र यथार्थतालाई कुशलतापूर्वक प्रस्तुत गर्न सक्ने डा.शशीको शिल्पको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । सरकारले गर्नुपर्ने यस्ता सांस्कृतिक महत्त्व, धार्मिक र पर्यावरणीय महत्वका विषयलाई व्यक्तिले सामान्य स्रोत साधनको प्रयोगले उपलब्धिमूलक बनाउने ठूलो कुरा रहेको बताउँदै एक अनुसन्धाताको हैसियतमा डा.शशीको प्रयत्न अतुलनीय रहेको भन्दै कर्ममा निरन्तरता तथा कृति सफलताका लागि शुभकामना दिनुभयो ।

यसैगरी मन्तव्यका क्रममा कार्यक्रमकी सभापति ड़ा बीणा पौडेलले नियमित र निरन्तर कर्म गर्ने क्रममा आफूले प्राज्ञिक रूपमा प्रशिक्षित गरेका शिष्यहरूको प्रगतिले आफूमा समेत गौरव बोध हुने गरेको बताउँदै आफ्ना विद्यार्थीहरूबाट पनि आफूले धेरै कुरा जान्न पाएको विचार व्यक्त गर्नुभयो । सिर्जनशील कर्मको दौरानमा एकैपटक तिम्ल्याहा कृति पाठक सामू आउनु चानचुने कुरा नभएको भन्दै उहाँले आगामी दिनमा डा.शशीलाई पारिवारिक रूपमा उनका सन्तानका जननीका रूपमा भन्दा ज्यादा उनका कृतित्वका आधारमा जुगौंजुग स्मरण गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

स्वागत मन्तव्यका क्रममा कृतिकार डा.शशी थापा पण्डितले कृति तैयार पार्दाका उहापोह बारे प्रकाश पार्दै अध्ययन अनुसन्धानका क्रममा हरतरहले सहयोग पुर्याउने घरपरिवार लगायत स्रोत सामग्री उपलब्ध गराउने तथा मार्गदर्शन गर्ने गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्दै निकट भविष्यमा संस्कृति सम्बन्धी अर्को कृति आउन लागेको जानकारी गराउनुभयो । कार्यक्रमको सफलताका लागि उपस्थित सम्पूर्ण अभ्यागतप्रति आभार पनि व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल आदर्श महिला सङ्घले कृतिकार डा.शशी थापा पण्डितको सम्मान समेत गरेको थियो ।

कवि यादव भट्टराईद्वारा मुक्तकीय शैलीमा कुशलतापूर्वक सहजीकरण गरिएको उक्त कार्यक्रममा साहित्यकारहरू पुस्कर लोहनी, राधेश्याम लेकाली, हिरण्यकुमारी पाठक, नरेन्द्रबहादुर श्रेष्ठ, प्रद्युम्न जोशी, किशोर पहाडी, वियोगी बुढाथोकी, श्रीओम श्रेष्ठ ‘रोदन’ शंकर भारती, शीतल गिरी, उमेश पाण्डे, जय छाङ्छा, जयराम बिडारी, दीपक लोहनी, बैरागी जेठा, शान्ति सापकोटा रुबि सत्याललगायत सयौंका संख्यामा साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: