काठमाडौं, मङ्सिर ६ गते शनिबार । साहित्य सन्ध्याको नियमित मासिक ४७० औँ शृङ्खला सम्पन्न गरिएको छ । उक्त शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ विषयमा र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा विशद परिचर्चा गर्नुको साथै विशेष कविगोष्ठी’को आयोजना गरिएको थियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा.मुकेश चालिसे हुनुहुन्थ्यो ।
प्रा.डा.मुकेश चालिसेले ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ विषयमा विशद चर्चा गर्नुहुँदै प्रगतिशील साहित्यको परिभाषा, प्रगतिशील लेखक सङ्घ नेपालको स्थापना र उद्देश्य; भारतमा इन्दिरा गान्धी, चरण सिंहहरूले आफूहरूलाई प्रगतिवादी भनेका दृष्टान्त; चीनमा लु सुन, दिङलिङ, हु फेङ आदिले सामन्तवादको विरोध गर्दै जनताका पक्षमा लेखिएको साहित्य, प्रगतिशील लेखक सङ्घ, नेपालमा ज्येष्ठ स्रष्टाहरूले गरेका नेतृत्व आदिको दृष्टान्तसमेत उल्लेख गर्दै पाका नागरिकलाई बुढाबुढी भन्ने, हेलाँहोचो गर्ने र हिजोका मान्यतालाई निस्तेज गर्ने, ज्येष्ठ नागरिक भनेका अनुत्पादक हुन् भन्ने पुँजीवादको वीभत्स रूप देखा परेका/परिरहेका छन्, भन्ने धारणा राख्नुभयो ।
‘साहित्यमा एआईको प्रयोग’ विषयमा पावरप्वाइन्टबाटै विशद चर्चा गर्नुहुँदै वरिष्ठ सञ्चारकर्मी अजय शर्माले एआई भनेको कृत्रिम बौद्धिकता हो र यसले मानवबुद्धिकै संयोजन गर्दछ । सन् १९५० मा ट्युरिङ भन्ने विद्वानले यसको प्रतिपादन गरेको मानिन्छ । सन् १९५६ मा डार्क माउथ सम्मेलन सम्पन्न भएको छ भने सन् २०२० मा जिपिटी ३ आयो र २०२३ देखि च्याट जिपिटी ४ प्रयोगमा रहेको छ । विशेष कामका लागि सङ्कीर्ण एआई, मानिसको बुद्धिको प्रयोगका लागि सामान्य एआई र मानिसको बुद्धिभन्दा माथि सुपर एआईको प्रयोग हुने गरेको छ । सन् १९५२ मा पहिलोपटक दिइएका शब्दको प्रयोग गरेर एआईले शब्द लभलेटर बनाएको पाइन्छ । सन १९८४ मा पहिलो एआई पुस्तक तयार भएको छ । सन २०१५ देखि हालसम्म धेरै डाटा खेलाउनसक्ने, मान्छेले जस्तै लेख्नसक्ने एआई प्रविधिको विकास भएको छ । सन् २०१८ मा कारमा राखेको सेन्सरले लिएको डाटाका आधारमा लेख्नसक्ने प्रविधि विकास यसले गर्यो भने २०२० मा लेखकीय ढाचा पहिचान गर्ने, शैली मिश्रण पनि गर्ने, दिइएका डाटाकै आधारमा सिर्जनशीलताको नक्कल पनि गर्ने र त्यो नक्कल शक्तिशाली पनि हुने अर्थात् छुट्याउनै नसक्ने हुने पनि देखिएको छ । एआई सम्पूर्ण चाहिँ होइन तर अत्यन्त सहयोगी भने बन्नसक्तछ । अत्यन्त छिटो लेखन, धेरै सहयोगी, बहुभाषी क्षमता, अनुसन्धानात्मक क्षमता, प्रकाशनको लागत घटाउनेजस्ता थुप्रै यसका फाइदा रहेका छन् भने कहिलेकाहीँ यसले गरेको अध्ययन सतही हुने, मौलिकता हराउनसक्ने, तथ्यगत त्रुटि हुने, सांस्कृतिक सन्दर्भ गलत हुने, सिर्जनाको भाव वा मर्म कमजोर हुने, व्यक्तिगत शैली हराउनेजस्ता यसका सीमा हुनसक्छन् भन्ने धारणा विभिन्न दृष्टान्तसहित राख्नुभयो ।
समारोहमा डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, डा.कृष्ण सुवेदी, महेशराज खरेल, डा.राजेन्द्रप्रसाद अधिकारी, कृष्ण बाउसे, जयन्ती स्पन्दन, रामचन्द्र दाहाल, कुमार नेपाल, ओमप्रसाद कोइराला, गोपालकुमार मैनाली, डा.रामहरि लम्साल, दुर्गाप्रसाद अधिकारी भमरकोटे र त्रिलोचन जोशीले आआप्mना एलाक, कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि समीक्षा गर्नुहुँदै अतिथि कवि यशोदा अधिकारीले साहित्य सन्ध्या सबैभन्दा लामो समयदेखि निरन्तर चलिरहेको नेपाली प्रगतिवादी साहित्यको काव्यशाला वा स्कुल हो । वर्तमानका धेरै उदीयमान स्रष्टाहरू यही काव्यशालाका उपजका रूपमा स्थापित रहेका छन् । आजको यो विशेष समारोहमा दुइटा अत्यन्त महत्त्वपूर्ण विषयमा दुईजना विद्वानले विशद चर्चासमेत गर्नुभएको छ र साहित्य सन्ध्याको यो अर्को अनुकरणीय कर्म हो । यस विशेष समारोहमा आज वाचित कवितामा श्रमसँग, पर्यावरणसँग, समसामयिक राजनीतिक विषयसँग सम्बन्धित कविता वा सिर्जना वाचित भएका छन् । हालैको जेनजी आन्दोलन जेनजी विध्वंसको प्रतीक बनेको, जलवायु परिवर्तन अहिले विश्वव्यापी समस्या बनेको, राजनीति प्रतिशोधी भएको हुँदा यसको विरोध गर्नुपर्ने आबाज उठाइएका कविता हामीले सुन्यौँ । मुलुकको अस्मितामा खेलबाड भइरहेको र जताततै मुलुकमा वर्तमानमा अराजकता र विसङ्गत पक्ष मौलाइरहेको यथार्थ पनि कवितामा उजागर गरिएको छ । मानवता, सद्भाव र सामूहिक भावनाको विकास नगरी मुलुक बनाउन सकिदैन भन्ने राष्ट्रवादी भावना पनि कवितामा आएको पाइन्छ । कवितामा मुलुकमै श्रम गर्नुपर्ने, पसिना बगाउनुपर्ने स्पष्ट सन्देश पनि आएको छ । सत्ताको लुछाचुँडी र हिंसाले कहिल्यै पनि मुलुक नबन्ने उद्घोष कवितामा गरिएको छ । वर्तमानमा राष्ट्रिय झन्डाको दुरुपयोग गर्ने प्रवृत्ति मौलाएको प्रति चिन्ताभाव व्यक्त गरिएको छ । मोक्षको आशामा निराशाको गन्तव्य रोज्नुनहुने सन्देशसमेत कवितामा दिइएको छ । समग्रमा आज वाचित अधिकांश रचना सुन्दर रहेका छन् र आजको यो विशेष प्रविधिमैत्री गोष्ठी पनि सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
सभाध्यक्ष राम विनयले हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज बुलन्द गर्ने कार्य गरिरहेका छौँ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आज वाचित सिर्जनाले सुनियोजित रूपमा ध्वंश मच्चाउने नियतदेखि मुलुकका समग्र बेथितिसम्मका विषयलाई समेटेको पाइयो । हामी स्रष्टाले यसैगरी वस्तुस्थितिको नजिकबाट मूल्याङ्कन गरेर सत्य र न्यायका पक्षमा आबाज बुलन्द गर्नुपर्छ भन्ने पनि आजका सिर्जनाले बोध गराएका छन् भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्: