२०८२ मंसिर १४, काठमाडौं । अनेसास केन्द्रका पूर्व अध्यक्ष मोहन सिटौला तथा अनेसास डिसी च्याप्टरका उपाध्यक्ष कविन्द्र सिटौलाकी ममतामयी माता मनमाया सिटौलाको श्रद्धाञ्जली सभा एवम् कवि कविन्द्र सिटौलाको ‘मेरो देश प्रेमको देश’ अभियानको बारेमा जानकारी दिने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरियो ।
अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजना गरिएको सो शोकसभा कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ कथाकार पुष्कर लोहनी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाई तथा खगेन्द्र सिटौलाले मनमाया सिटौलाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनको व्यक्तित्वका बारे बोल्नुभएको थियो ।
दिवङ्गत मनमाया सिटौला स्रष्टा हुनुका साथै लोकगायिका समेत हुन् । ‘मैले बिताएको युग’ मनमाया सिटौलाको आत्मवृतान्त कृति प्रकाशित रहेको छ । मनमाया सिटौलाको यही मङ्सिर २९ गते ९६ वर्षको उमेरमा काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा निधन भएको थियो ।

शोक सभा कार्यक्रममा मनमाया सिटौलाप्रति श्रद्धाञ्जली प्रकट गरिएका कविताहरू पनि वाचन गरिएको थियोे ।कविता वाचन गर्नेहरूमा मनमाया सिटौलाका छोरा कविन्द्र सिटौला, छोरी राधिका सिटौला दाहाल, कवि एवं आख्यानकारहरू हिरण्यकुमारी पाठक र सीता पाण्डे, अनेसास केन्द्रीय सदस्य सुमन वर्षा, अनेसास नेपाल च्याप्टरकी सदस्य द्वारिका कुइँकेल रहनुभएको थियो । अनेनास नेपाल च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले कार्यक्रमको उदेश्यमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम शुरु हुनु अगावै कविन्द्र सिटौलाले ‘मेरो देश प्रेमको देश’ अभियानका बारेमा संक्षेपमा प्रकाश पार्दै नेपाली कागजको एक पन्नामा लेखिएको युग परिचायक कवितासङ्ग्रह (Mega Poetry Collection) का केही हरफहरू भरेर उपलब्ध गराउन सबै कवि लेखकहरूमा आग्रह गर्नु भएकी थियो । प्रेम के हो, प्रेम कहाँ हुन्छ, कसरी हुन्छ भन्ने कुरा चार चार हरफ खाली ठाउँमा आ-आफ्नो विचार भरेर बुझाउनसमेत अनुरोध गर्नु भएको थियो ।
अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले सभापतितब गर्नु भएको सो कार्यक्रमको सहजीकरण अनेसास नेपाल च्याप्टरकी उपाध्यक्ष मन्जिला अनिलले गर्नु भएको थियो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अनेसास नेपाल च्याप्टरकी निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, अनेसास कोलोराडो च्याप्टरकी पूर्व अध्यक्ष आचार्य प्रभा, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, प्रा. डा. गोविन्दमानसिंह कार्की, साहित्यकारहरु विजयध्वज थापा, रश्मि रिमाल, अनेसास सदस्य शान्ति रिसाल लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्: