पुस १५, काठमाडौँ । कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्तीको अवसरमा सुरभि साहित्य प्रतिष्ठानले गोकर्णेश्वरमा स्रष्टा सम्मान तथा लेखनाथसम्बन्धी कविता वाचन सम्पन्न गरेको छ । सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता र गोकर्णेश्वर न पा ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिमा सुरभिका संरक्षकद्वय गोविन्द घिमिरे वेदमणि र युवराज मैनाली रहनुभएको थियो ।
कार्यक्रममा कुश्मा, पर्वतका स्रष्टा शान्तिनारायण श्रेष्ठ र गीतकार वसन्तराज अज्ञातलाई सुरभि सद्भावना पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नन्दलाल श्रेष्ठले सुरभिले यस क्षेत्रमा साहित्यिक कार्यक्रम गरेर, साहित्यकारहरूलाई उपस्थित गराएर पवित्र पारेको कुरा व्यक्त गर्दै साहित्यकारहरू र साहित्यका क्षेत्रमा आफूले सहयोग गरिरहेको र अझै गरिरहने वचन दिनुभयो ।

पुरस्कृतका तर्फबाट बोल्दै शान्तिनारायण श्रेष्ठले हामीजस्तो टाढाको मान्छेलाई सम्झेकोमा सुरभिलाई धन्यवाद भन्नुभयो । वहाँले आफ्ना रमाइला रमाइला गजल र मुक्तकहरूसमेत सुनाउनुभयो । युवराज मैनालीले शुभकामना मन्तव्य, सभाध्यक्ष तथा सुरभिका अध्यक्ष बाजुराम पौडेलले लेखनाथको जीवनी, कृतिहरूबारे सङ्क्षिप्त जानकारी दिँदै नेपाली साहित्यको आधुनिक कालका आरम्भकर्ता पनि लेखनाथ नै हुन् भन्दै आफ्नो रचना सुनाएर सभा समापन गर्नुभएको थियो ।
यस कार्यक्रममा रचनावाचन गर्नेहरूमा महेश्वर खनाल, सुशील आचार्य, वासुदेव पौडेल, खोलाघरे साहिँलो, प्रतीक धिमाल, गोपालकुमार मैनाली, रामचन्द्र खतिवडा, सरिता घिमिरे, राजनप्रसाद नेउपाने, ठाकुरप्रसाद भण्डारी, सुशीला प्रधानाङ्ग, विमल अर्याल, गणेश खतिवडा, विमल अर्याललगायत कविहरूले कविशिरोमणि लेखनाथसँग सम्बन्धित कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत प्रतिष्ठानका सहसचिव मेनका पोख्रेल आचार्यले गर्नुभयो । प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले पुरस्कृत प्रतिभाद्वयको परिचय दिनुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गर्नुभएको थियोे ।


प्रतिक्रिया दिनुहोस्: