काठमाडौं, पौष २६ गते। कवि पार्वती पुडासैनीको पहिलो काव्यकृति ‘छेपारो समय’ कवितासङ्ग्रह कल्पलतामा आयोजित एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।
कल्पलता साहित्य परिवारद्वारा जालपा पुस्तकालयमा आयोजित कल्पलता साप्ताहिक काव्यवाचन २०२औं शृङ्खलाको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’लगायत विशिष्ट अतिथिहरूले कृतिको संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. पुडासैनीले कल्पलता साहित्य परिवारले साप्ताहिक रूपमा काव्यवाचन कार्यक्रम संचालन गरी साहित्यिक अनुष्ठान सम्पन्न गर्दै आएको बताउनुभयो । साहित्यको उन्नयनमा विविध कार्यक्रमसहित राम्रो इतिहास कायम गरेको कल्पलता द्वैमासिकले समय सान्दर्भिक कृति ‘छेपारो समय’ लोकार्पण गरेर साहित्यिक सक्रियताको उत्कृष्ट काम गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि अधिवक्ता डा. प्रेमराज सिलवालले कार्यक्रममा वाचन गरिएका रचनाहरू र विमोचित कृतिबारे समीक्षा गर्दै ‘छेपारो समय’ को भाषाशैली, लेखन र सम्पादन सबै हिसाबले स्मार्ट रहेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार उमेश पाण्डेले लोकार्पित कवितासङ्ग्रह ‘छेपारो समय’ मा प्रयोग गरिएको बिम्ब छेपारो सबै अवस्था र समयमा स्वार्थी, लोभी, मतलवी र रकमीको अर्थमा प्रयोग नहुने बताउनुहुँदै कवी पुडासैनीको कृतिमा प्रयुक्त छेपारोलाई समयसँग चल्नसक्ने, समयको गतिसँगै अगाडि बढ्ने र समयको परिवर्तनलाई आत्मसात् गर्ने पात्रको रूपमा लिइएको पाइन्छ भन्नुभयो। शीर्षक र कविताको स्वरूपले कृति नवीनतम प्रयोगको रूपमा आएको पनि उहाँले प्रष्ट पार्नुभयो।
लोकार्पित कृति ‘छेपारो समय’ कवितासङ्ग्रहकी सर्जक पार्वती पुडासैनीले कार्यक्रममा धन्यवादसहित आफ्नो कृति लेखन र कविताका रचनागर्भ बारे जानकारी गराउनुभयो ।
कल्पलता साहित्य परिवारका उपाध्यक्ष दिपक बानियाँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा साहित्यकार देवराज सिंखडा, घनबहादुर थापा, विनोद अधिकारी, सुदर्शन अधिकारी, जे.पी. नेपाल, टंकबहादुर खत्री, कृष्ण बानियाँ, रमिता थापा लगायतले आ-आफ्नो रचनाका साथै लोकार्पित कृति ‘छेपारो समय’ बाट पनि केही कविताहरू वाचन गर्नुभएको थियो ।
कल्पलता साहित्य परिवारका अध्यक्ष नर बहादुर बि.सी.ले कार्यक्रमको समापन गर्दै पार्वती पुडासैनीको कृति नवीन सन्तानको रूपमा जन्म भएको र आगामी दिनमा पनि निरन्तर लेखिरहन आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन कल्पलता द्वैमासिकका प्रधान सम्पादक घनबहादुर थापाले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: