इलामका सर्जकहरू  सम्मानित

५ माघ २०८२

२०८२ माघ १, काठमाडौं । काठमाडौंमा बसेका इलामेलीले आज माघे स‌क्रान्ति पर्व मनाए । इलाम विकास समाजले अनामनगर, काठमाडौंस्थित शिव मन्दिरमा आयोजना गरेको कार्यक्रममा चलचित्र निर्देशक एवं वरिष्ठ साहित्यकार लक्ष्मीनाथ शर्मा, वरिष्ठ पत्रकार धर्म गौतम, गायिका एवं कलाकार कविता आले, वरिष्ठ धावक बुद्धवीर लामा, वरिष्ठ चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, वरिष्ठ कलाकार राजु पिठाकोठे र वरिष्ठ संङ्गीतकार सूर्य थुलुङ सम्मानित हुनुभयो ।

सोही कार्यक्रममा समाजले गत २०८२ साउन १० गते सम्मान गर्दा अनुपस्थित रहनु भएका सांसद सुहाङ नेम्बाङ र पूर्व डिआइजी पिताम्बर अधिकारीलाई पनि सम्मान गर्‍यो ।

उहाँहरूलाई सो सम्मान इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकाली, सांसद महेश बस्नेत, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, पूर्व सचिव खेमराज नेपाल, समालोचक प्रा. धरणीप्रसाद गौतम, इलाम नगरपालिकाकी उपमेयर विष्णु दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी लगायतले सम्मानित गर्नुभएको थियो ।

कार्यक्रममा चर्चित गायक यम बराल, गणेश पराजुली, यशोदा पराजुली, बलराम समाल, डेनी निरौला, कविता आले, सुलोचना श्रेष्ठ लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष राधेश्याम लेकाली, सम्मानित व्यक्तित्वहरू लक्ष्मीनाथ शर्मा र कविता आलेलगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

योग दिवस पनि परेकोले समाजकी सदस्य तथा योग प्रशिक्षण नुनिता लुइँटेलले सहभागीहरुलाई योगाभ्यास पनि गराउनु भएको थियो । कार्यक्रममा सहभागीले इलाम झल्काउने परिकार सेलरोटी, तरुल तथा चाकुको स्वाद ग्रहण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण इलाम विकास समाजका सचिव अर्जुन भट्टराईले गर्नु भएको थियो ।

कार्यक्रमस्थलमा इलाममा उत्पादन भएको चिया, ललिपप, घ्यू तथा महलाई प्रदर्शनीका रुपमा राखिएको थियो । इलामकै उत्पादन नौनी घ्यू काठमाडौंमा प्रतिकेजी सात सय ५० रुपैयाँमा उपलब्ध गराउँदै आएको इलाम अर्ग्यानिकका देवेन्द्र रिमालले बताउनु भयो । रिमालले इलामेली तथा इलामको उत्पादन मनपराउनेले इलामकै दाममा काठमाडौंमा अर्ग्यानिक सामान उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।

गृह जिल्ला इलाम भइ काठमाडौंमा बसोबास गर्दै आएका इलामेलीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: