सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ दोस्रो संस्करण सार्वजनिक

८ माघ २०८२

काठमाडौं, माघ ७ गते । नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ दोस्रो संस्करण सार्वजनिक भएको छ ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा.सृजना शर्मा, छविरमण सिलवाल, लेखनाथ हुमागाईं, केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामर्थ्य  भएको बताए । लेखनीमा इमान्दार हुनुपर्ने भन्दै सापकोटा नियात्राकामा इमान्दार रहेको देखिएको बताए ।

कृतिमाथि परिचर्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले सापकोटाको नियात्रा द्वन्दकालीन समयको चित्र भएको बताए । उनले भने ‘निजात्मक अनुभूति र जानकारीमूलक नियात्रा लेखनीमा लागेका सापकोटाको कृतिले ससाना दृश्यलाई अनुभूतिमय ढंगले लेखिएको छ ।’

लेखनाथ हुमागाईंले आफ्नो शिष्यको साहित्य सिर्जनाले खुशी भएको भन्दै उनको विद्यालय जीवनको समेत जानकारी दिए ।

डा.सृजना शर्माले कृतिले विभिन्न यात्राका क्रममा भोगेका दुःख र पीडा, राष्ट्रियता र छिमेकीका हेपाहा प्रवृत्तिको बारेमा चर्चा गरिएको बताइन् । कृतिले पाठकलाई सँगै घुमाउने उनको भनाइ थियो । ‘यात्राको लयले पूर्वदेखि सुदुर पश्चिमसम्मका विभिन्न स्थानहरूसम्म पाठकलाई लैजान्छ ।’

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताए । स्रष्टा नियात्रा मात्र नभएर निजात्मक निबन्ध लेखनीमा समेत क्रियाशिल स्रष्टा भएको बताए ।

नियात्राकार सापकोटाले आफु लेख्न रहर गर्ने व्यक्ति भएपनि असल पाठक भएको बताए ।

नियात्राकार पवन आलोकले सापकोटाको सरल र सबैसँग घुलमिल हुने बानी रहेको भन्दै कृतिको सफलताको निम्ति शुभकामना दिए । साहित्यिक पत्रकार संघका राधेश्याम लेकालीले वहुआयामिक व्यक्तित्वको रूपमा सापकोटालाई चिनेको बताए ।

भुँडीपुराणका प्रबन्ध निर्देशक केशव पराजुलीले सापकोटालाई आफुले परिवारको सदस्यको रुपमा लिएको बताए ।

उक्त कार्यक्रमको सभापतित्व श्रीओम श्रेष्ठ रोदनले गरेका थिए । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रमको सहजिकरण प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल तथा स्वागत कोषाध्यक्ष तारा केसीले गरिन् ।

प्रतिक्रिया दिनुहोस्: