नेपाली कलासाहित्य डट कमबाट सर्जकहरू सम्मानित

५ फाल्गुन २०८२

२०८२ माघ ५, काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशिष्ट साहित्य साधक सर्वश्री मनबहादुर मुखियालाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान २०८२ नगद १,०१,०००।-सहित सम्मानित गरेको छ । यो सम्मान प्रतिष्ठानले विगत १६ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकहरूलाई प्रदान गर्दै आएको छ ।

यसैगरी प्रतिष्ठानले कलासाहित्यका साधक एवम् साहित्यिक अभियन्ता सर्वश्री श्रीओम श्रेष्ठ ‘रोदन’लाई नगद १,००,०००।- राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार २०८२, सशक्त शब्दशिल्पी सर्वश्री निमेष निखिललाई नगद ७५,०००।- राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री पुरस्कार २०८२, मिथिला चित्रकारिताका साधक स्रष्टा एससी सुमनलाई नगद ६०,०००।- राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार २०८२, साहित्यिक पत्रकार एवम् स्रष्टा सर्वश्री राजेश खनाललाई नगद ५०,०००।- राशिसहितको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार २०८२ र नेपाली लोकसाङ्गीतिक जगतका सङ्घर्षशील स्रष्टा सर्वश्री झुमा लिम्बूलाई नगद ५०,०००।- राशिसहितको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार २०८२ समर्पण गर्‍यो ।

प्रतिष्ठानका अध्यक्ष मोमिलाको सभापतित्वमा आयोजित कार्यक्रममा सो सम्मान नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति विशिष्ट चित्रकार किरण मानन्धरको प्रमुख आतिथ्यतामा एक भव्य समारोहका बीच समर्पण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि किरण मानन्धर, अध्यक्ष मोमिला, सम्मानित मुखिया, श्रीओम श्रेष्ठ, निमेष निखिल र प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्कीले आआफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण कवि मणि लोहनीले गरेका थिए ।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठान राष्ट्रको साझा सवाल र गौरव नेपाली कला, साहित्य, सङ्गीत, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा सम्मान तथा पुरस्कार स्थापन, अध्ययन अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, विमर्श, गोष्ठी आदिको व्यवस्था गरी सो क्षेत्रका उत्थानमा समर्पित रहेर नेपाली उत्कृष्ट साहित्यलाई विश्वपरिवेशमा परिचित गराउन प्रतिबद्ध संस्था हो ।

प्रतिक्रिया दिनुहोस्: