पोखराको सम्झना
रिजन सापकोटा
कक्षा : ८ ‘जेम्स’
दशैँको बिदामा म परिवारसँग पोखरा घुम्न गएको थिएँ । पोखराको नाम सुन्दै मनमा शान्ति र आनन्दको अनुभूति हुन्थ्यो । त्यहाँ पुग्दा त्यो अनुभूति झनै गहिरो भयो । पोखराको सबैभन्दा ठूलो आकर्षण फेवाताल रहेछ । त्यहाँ पुगेपछि त्यस तालको बीचमा रहेको ताल बाराही मन्दिरले यसको सुन्दरता अद्भूत बनाएको अनुभूति मलाई गरायो । हामीले ढुङ्गा चढेर तालको आनन्द लियौँ र मन्दिरको दर्शन गर्यौँ ।
पोखरामा बिहान उठेर हिमालका चुचुराहरूमा सूर्यको पहिलो किरण पर्दाको दृश्य कहिल्यै नबिर्सिने खालको थियो । माछापुच्छ्रे हिमालको सुन्दरताले मनलाई मोहित बनायो । हामीले डेभिज् फल्स, गुप्तेश्वर गुफा र शान्ति स्तुपाको पनि भ्रमण गर्यौँ । शान्ति स्तुपाबाट पोखरा उपत्यका र फेवा तालको मनोरम दृश्य देखिन्थ्यो ।
पोखराको बजारमा घुम्दा त्यहाँको संस्कृति र जीवनशैलीको मीठो अनुभव भयो । स्थानीय परिकारहरू खाँदा स्वादिलो लाग्यो । दशैँको समय भएकाले पोखरामा रमाइलो वातावरण थियो । यो यात्रा मेरो जीवनको एउटा अविस्मरणीय पल बन्यो । पोखराको प्राकृतिक सुन्दरता र शान्त वातावरणले मलाई धेरै आनन्द दियो ।
बन्दिपुरको यात्रा
मौसमी पुन मगर
कक्षा : ८ ‘जेम्स’
दशैँको रमाइलो माहोल थियो । विद्यालय बिदा भएकाले मनमा उत्साह थियो । हामीले साथीहरूका साथ घुम्न जाने योजना बनायौँ । यसपटकको गन्तव्य बन्यो तनहुँको बन्दिपुर । पहिला धेरै सुनेको भए पनि जाने मौकाचाहिँ पहिलोपटक मिलेकोले मन दङ्ग भएको थियो ।
हामी पाँच जना साथीहरू बिहान सबेरै बस चढ्यौँ । बाटाका रमाइला दृश्यहरूलाई कहिले मोबाइलमा त कहिले आँखामा कैद गर्दै अघि बढ्यौँ । झन्डै ३ घण्टाको यात्रापछि डुम्रे पुग्यौँ । अनि त्यहाँबाट बन्दिपुर जाने साँघुरो तर सुन्दर बाटो समात्यौँ । बाटो साँघुरो भए पनि वरिपरिको सुन्दर दृश्य र सूर्यको भर्खरै झुल्केको किरणले यात्रालाई सहज बनायो ।
बन्दिपुर पुगेपछि शान्त वातावरण यति शान्त थियो कि त्यो वर्णन शब्दमा सीमित गर्न गाह्रो छ । साँघुरो सडकका छेउका पुरानापुराना घरहरू, ढुङ्गे पाटीहरू, लोभलाग्दो स्थानीय जीवनशैली, सबै कुराले समयलाई केही समयका लागि रोकिदिएजस्तो लाग्थ्यो । साँझको समय बन्दिपुरको मुख्य चोकमा बसेर सेल र लोकल माछा खायौँ । चिसो हावाले गफगाफलाई अझै रोचक बनाइदिएको थियो । यसरी नै बन्दिपुरको यात्रा अत्यन्तै अविस्मरणीय बन्यो ।
नेसनल युनाइटेड स्कुल
गणेशचोक, बूढानीलकण्ठ, काठमाडौं ।


प्रतिक्रिया दिनुहोस्: