लेख

शुभकामना !

२२ चैत्र २०८२
ड़ा शैलेन्दुप्रकाश नेपाल

शुभकामना !
डा.शैलेन्दुप्रकाश नेपाल

विद्यालय भनेको मानिसलाई सभ्य, सचेत, सक्रिय र सृजनशील बनाउने ठाउँ हो । बालबालिकालाई जीवनको महत्त्व बुझाउने र सचेतनापूर्वक कर्म पथमा डोर्‍याउने विषयमा प्रत्येक विद्यालय र त्यहाँ अध्यापनरत शिक्षकशिक्षिकाहरूको अविस्मरणीय भूमिका रहेको हुन्छ । बालबालिका वा विद्यार्थीका लागि शिक्षक देवता अनि शिक्षकका निम्ति बालबालिका देवता हुन् भन्ने मान्यता स्थापना गर्न सकियो भने समाज सुन्दर र सुखी बन्न धेरै समय लाग्दैन ।

काठमाडौँ, गोङ्गबु क्षेत्रमा अवस्थित काठमाडौं युरो स्कुल अन्तर्राष्ट्रिय मान्यता अनुरूपको शैक्षिक संस्था हो । विगत लामो समयदेखि यस शिक्षालयले आफ्ना छात्रछात्राहरूको सृजनशील प्रतिभालाई उजागर गर्ने सन्दर्भमा विविध कार्यक्रमहरूको आयोजना गरेर मार्ग प्रसस्त गरिरहेको अवस्था छ । साहित्य, कला र खेलकुदलाई शिक्षाका अपरिहार्य पक्ष मानेर बेलामौकामा सान्दर्भिक कार्यक्रम आयोजना गर्ने सिलसिलामा यसपटक साहित्यकार र विद्यार्थीको साक्षात्कार कार्यक्रम राखेर रचना वाचनको सुयोग समेत मिलाइयो । छात्राहरू रोनिशा अधिकारी, रुविना धिताल र निष्कृति निशा पौडेल अनि शिक्षिका वागेश्वरी धामीको रचना वाचनले सबैलाई आकर्षित गरेको उक्त अवसरमा आगन्तुकका तर्पmबाट डा.सत्यराज थपलिया, डा.दामोदर पुडासैनी, कवि मुकुन्द शर्मा, कवि प्रभा भट्टराई, कवि सीता भट्टराई, कवि तारा के.सी., कवि पार्वती पुडासैनी, कवि सुनिता सापकोटा, कवि उत्तम विचार भेटुवाल, मुक्तककार राजेन्द्र घिमिरे, साहित्यकार/पत्रकार उमेश पाण्डे, गजलकार सुशीला शर्मा धमला, आख्यानकार माया शर्मालगायत स्रष्टाको सहभागिताले सबैलाई उत्प्रेरित गरायो ।

विद्यालयका उपप्राचार्य राममणि पौडेलको स्वागतसहितको आतिथ्यले कार्यक्रमलाई उपयोगी र स्मरणीय बनायो नै । भाषा, साहित्य, संस्कृति, कला र सभ्यताको विकास र विस्तारमा यस्ता कार्यक्रमले अत्यन्त उत्साहित बनाउँदै प्रेरणा दिने काम गर्दछन् । काठमाडौं युरो स्कुल यस दिशामा अझ गम्भीर र सक्रिय बनोस् । हार्दिक कामना छ ।

२०८२ माघ २२ गते
वसुन्धरा, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्: