वडा नं. ११ को प्रगति दर्पण लोकार्पण र सार्वजनिक सुनुवाई

६ असार २०८३

काठमाडौं, २०८३ असार ६ गते शनिबार । टोखा नगरपालिका ११ वडा कार्यालयले वडा प्रगति दर्पण लोकार्पण तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्य र वडा अध्यक्ष घनश्याम खड्काको सभापतित्वमा लोकार्पण तथा सुनुवाईको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, विभिन्न वडाका वडा अध्यक्षहरू, वडासदस्यहरूलगायत वडावासी जनसमुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडावासी विभिन्न व्यक्तिहरूले वडाको विकास–निर्माण, भैरहेका कार्यक्रमहरू, भावी योजना र सामाजिक क्षेत्रमा भए गरेका कार्यक्रमहरूका बारेमा आफ्ना जिज्ञासा, प्रश्न र सुझावहरू राखेका थिए ।

पुस्तक लोकार्पण गर्दै वडावासीहरूले राखेका जिज्ञासा र प्रश्नको जवाफ दिने क्रममा नगर प्रमुख अधिकारी, उपप्रमुख तामाङ, प्रमुख प्रशासकीय अधिकृत भट्टराई र वडा अध्यक्ष खड्काले वडाको विकास–निर्माणको काम द्रूत गतिमा भइरहेको, जनताका पिरमर्का र गुनासाहरूलाई नगर र वडाहरूले गम्भीर रूपमा सुनिरहेको र जनताको चाहना र भावना अनुसार नै काम गरिरहेको, नगरको सुशासन र विकासमा नगरपालिका दृढ बनेर लागिपरेको र आगागी बजेट र योजनामा पनि जनताको हित र भलाइलाई ध्यानमा राखेर शिक्षा, स्वास्थ्य, सरसफाई र वातावरणको स्वच्छतामा विशेष ध्यान दिने कुरा बताउनुभयो । सो अवसरमा नगरप्रमुख अधिकारीले खानेपानीको दीर्घकालीन समाधानको लागि विशेष पहल र कार्यक्रमहरू भइरहेको पनि बताउनुभयो ।

लोकार्पित वडा प्रगति दर्पणमा टोखा नगरपालिका ११ नं. वडाले वर्तमान वडा जनप्रतिनिधिहरू निर्वाचित भएर आएको विगत चारवर्षदेखिको कार्यक्रम, योजना, विकास–निर्माण, स्वास्थ्य–शिक्षा, समाजिक उत्तरदायित्व लगायतमा भए/गरेका महत्वपूर्ण उपलब्धि र कामहरूको विवरण प्रस्तुत गरिएको छ ।

नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको शुभकामना सन्देश रहेको पुस्तकमा वडा अध्यक्ष घनश्याम खड्का, वडा सदस्यहरू ईश्वरी घिमिरे आचार्य, रञ्जु बोगटी, शोभा पाण्डे र महेश थपलिया, वडा सचिव नवराज पनेरु, जनस्वास्थ्य निरीक्षक दिनेश अधिकारी र महिला स्वास्थ्य स्वयंसेविका कल्पना खड्कालगायतको वडाका विकास–निर्माण, स्वास्थ्य, शिक्षा, महिला र बालबालिकाका बारेमा रहेका लेख, रचनाहरूको साथै समसामयिक विषयका जानकारीमूलक सन्देश, सूचना र टलिफोन नम्बरहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: