२०८३, काठमाडौ, असार १७ गते बुधबार । नागार्जुन, काठमाडौँमा अवस्थित ओशो तपोवनमा, ओशो तपोवनद्वारा आयोजना गरिएको विशेष एवम् भव्य समारोहमा ‘अष्टावक्र महागीतामृत’ (अध्यात्म तथा अद्वैत वेदान्त दर्शन) कृतिको लोकार्पण गरियो । साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको उक्त कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो ।
दीप प्रज्ज्वलन र स्वस्तिवाचन गरी कार्यक्रमको सुरुवात गरिएको थियो भने कार्यक्रमको सञ्चालन स्वामी अर्हत्ले गर्नुभएको थियो । बोधिसत्व स्वामी आनन्द अरुण, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी तथा अनुसर्जक सुमी लोहनीले संयुक्त रूपमा सो कृतिको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रमका मुख्य वक्ता स्वामी आनन्द अरुणले ओशोले सन् १९७४ मा आफ्ना निकटस्थ अठारजना साधकका बिच अष्टावक्र गीताको चर्चा गर्नुभएको, त्यसलाई विलक्षण र दुर्लभ ग्रन्थको रूपमा स्वीकार गर्नुका साथै सो ग्रन्थ जनकपुरको माटोमा जन्मिएको कारण त्यसको प्रवर्द्धनमा हामी बढी संवेदनशील हुनुपर्ने बताउनुभएको थियो । उहाँले ओशोले राजा जनकलाई प्रभावित र वैराग्य प्रदान गर्नसक्ने अष्टावक्र गीतामा जम्मा २९८ श्लोक मात्र भए पनि ती श्लोकमा असाधारण अर्थ र प्रभाव रहेको तथा पहिलो २० श्लोकले नै राजा जनकलाई आफ्नो प्रभावमा लिन सक्षम भएको बताउनुभएको, अष्टावक्रबारे असङ्ख्य प्रवचन गर्नुभएको, सो प्रवचनका ६ वटा ग्रन्थ तयार भएका स्मरण गर्नुभएको थियो । उहाँले आफूले जनकपुरमा अष्टावक्र मन्दिर बनाउन पहल गरेको र अष्टावक्र गीतालाई राष्ट्रिय कृति धोषणा गराउनका लागि निरन्तर लागिरहेको कुरा पनि बताउनुभएको थियो ।
कार्यक्रमको आरम्भमा अनुसर्जक सुमी लोहनीले कृति रचनागर्भका बारेमा प्रकाश पार्दै आफूले कोरोनाको विशिष्ट कालमा अष्टावक्र महागीता पढी सोबाट प्रभावित भएर आमपाठकलाई लाभ हुने गरी अनुसिर्जन गरिएको कुरा बताउनुभएको थियो । मन्तव्यकै क्रममा साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले अष्टावक्र गीताका बोरमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो । लोकार्पित कृतिको विशद समीक्षा गर्नुहुँदै डा.रमा भट्टराईले आमपाठकका लागि कृति उपयोगी हुने, महिला लेखक भएकीले उपेक्षित गर्न नहुने र आत्मबोधका सन्दर्भमा कृति सदैव उपयोगी रहेको बताउनुभएको थियो ।
उक्त कार्यक्रममा डा.अनन्त अर्यालले अष्टावक्र महागीता ध्यान तथा सेवाभावसहित पठन हुनसके बुझ्न सकिने धारणा राख्दै सो गीताका बारेमा स्वामी रवि शङ्करले समेत सकारात्मक चर्चा गरेको प्रसङ्ग स्मरण गर्नुभएको थियो ।
साझा प्रकाशनबाट प्रकाशित ११२ पृष्ठको अष्टावक्र महागीतामृतको मूल्य रु.२४०।– रहेको छ ।


प्रतिक्रिया दिनुहोस्: