मन्जिला अनिलको ‘बुवाहजुर’ महाकाव्य लोकार्पित

२ भाद्र २०८३

२०८३ साउन ३० गते, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष साहित्यकार मन्जिला अनिलद्वारा लिखित ‘बुवाहजुर’ महाकवि लक्ष्मीप्रसाद देवकोटामा आधारित महाकाव्यको लोकार्पण समारोहको आयोजना गर्यो ।

भागवत वाचक अजितप्रसाद गौतम प्रमुख अतिथि रहनु भएको सो कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष तथा केन्द्रीय कार्यसमिति सदस्य श्री राजेन्द्र के. सी.को अध्यक्षतामा सम्पन्न भएको थियो ।

उपस्थित अतिथिहरूले सामुहिक रूपमा कृतिको लोकार्पण गरिएको कार्यक्रमका प्रमुख अतिथि गौतम, अध्यक्ष के.सी., साहित्यकार एवं महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र पदम देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका पूर्व अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार कमला ओली लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रमुख अतिथि भागवत वाचक अजितप्रसाद गौतमले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको सो कार्यक्रममा अतुल स्मृति गुरुकुलका बालबालिकाबाट मङ्गलाचरण प्रस्तुत गरिएको थियो । लोकार्पित कृतिबाट कविहरु कल्पना काफ्ले र कवि भवानी खतिवडाले केही श्लोक वाचन वाचन गर्नुभएको थियो ।

कार्यक्रममा लोकार्पित कृतिको समीक्षा साहित्यकार डा. देवी नेपाल र समालोचक ज्ञाननिष्ट ज्ञवालीले गर्नुभएको थियो । कृतिका सर्जक मन्जिला अनिलले लेखकीय मन्तव्य राख्नुभएको थियो ।

मन्तव्यमा महाकाव्यकार मञ्जिला अनिलले महाकवि देवकोटासम्बन्धी समाजमा भ्रमहरू फैलिएको हुनाले ती भ्रमलाई चिर्नको लागि ‘बुवाहजुर’ लेखेको बताउनुभयो ।

कार्यक्रममा अनेसास नेपाल च्याप्टरको तर्फबाट कृतिकार मन्जिला अनिललाई सम्मानपत्रसहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र वरिष्ठ आख्यानकार राजेन्द्र विमलप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रमको सहजीकरण डा. घनश्याम खतिवडाले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, कृति समीक्षक, अतुल स्मृति गुरुकुल र कार्यक्रम सहजकर्तालाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: