अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानबेराको अध्यक्ष महता घिमिरेको अध्यक्षतामा क्यानबेरामा आयोजना गरेको ‘शब्दमा शक्ति, सिर्जनामा स्वतन्त्रता’ विषयक तीज विशेष साहित्यिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा मेलबर्न, सिड्नी, अल्बरी र क्यानबेराबाट प्रतिनिधित्व गर्दै १२ जना महिला कविहरू – महता घिमिरे चापागाईं, दिव्यश्री आचार्य, भावना पराजुली, रोसनी खड्का, रिचा गौतम, सानु घिमिरे ‘ज्योत्सना’, सम्झना उप्रेती, शान्ति ढकाल अधिकारी, अञ्जना कार्की, प्रज्ञा पानेरु, अश्मा बुढाथोकी र ममता तिवारीले महिला पहिचान, सशक्तीकरण तथा सामाजिक विविध विषयमा आफ्ना सशक्त कविता प्रस्तुत गर्नुभयो। उहाँहरू सबैलाई आफ्ना सिर्जना र आवाजमार्फत साहित्यिक वातावरणलाई समृद्ध बनाउनु भयो।

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियास्थित कार्यवाहक राजदूत माननीय तारा गौतमज्यू तथा माननीय डेभिड स्मिथ सांसदज्यूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप विशेष बनायो। नेपालबाट आउनुभएका अतिथि कविहरू विद्वत रत्न प्रा. डा. गार्गी शर्मा र वेदकुमारी न्यौपानेले समेत आफ्ना सशक्त कविता प्रस्तुत गरी कार्यक्रमलाई थप अर्थपूर्ण बनाउनुभयो।
यो कार्यक्रम नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानको सुन्दर उत्सव मात्र नभई अष्ट्रेलियामा नेपाली मौलिकता र सिर्जनशीलतालाई प्रस्तुत गर्ने तथा नयाँ पुस्तामाझ नेपाली भाषा र सांस्कृतिक सम्पदाको निरन्तरता कायम राख्ने महत्वपूर्ण प्रयास पनि रह्यो। यस्ता साहित्यिक कार्यक्रमहरूले अष्ट्रेलियाभरिका नेपाली समुदायबीच एकता, आत्मीयता र अपनत्वको भावना अझ बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छन्।

यस अवसरमा अष्ट्रेलियाका विभिन्न राज्य तथा शहरबाट क्यानबेरा आउनुभएका महिला साहित्यकारहरूलाई नेपालस्थित दूतावासमा आत्मीय स्वागत कार्यवाहक राजदूत तारा गौतम तथा सम्पूर्ण दूतावास परिवारले गर्नु भयो। उहाँहरूको सिर्जनात्मक यात्रालाई सम्मान गर्दै आफ्नै घरजस्तो आत्मीय वातावरण प्रदान गर्नुभयो र नेपाली भाषा तथा साहित्यका विविध पक्षमा प्रेरणादायी संवाद गर्ने अवसर दिनुभयो।
उक्त भेटघाटमा नेपाली भाषा तथा साहित्यको वर्तमान अवस्था, डायस्पोरामा नेपाली साहित्यको निरन्तरता, नयाँ पुस्तामा भाषा र संस्कृतिको हस्तान्तरण तथा आगामी दिनमा साहित्यिक गतिविधिहरूलाई अझ व्यवस्थित र संस्थागत रूपमा अगाडि बढाउने विषयमा सार्थक छलफलसमेत भयो।
यस कार्यक्रमको परिकल्पनाकार सानु घिमिरे र कार्यक्रमका मार्गदर्शक सौरभ किरणले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस्: