डा. रेखा ‘निर्झर’ को कथा सङ्ग्रह ‘प्रश्न’ लोकार्पित

५ आश्विन २०८३

२०८३ असोज ५, काठमाडौं । डा.रेखा यादव ‘निर्झर’द्वारा लिखित ‘प्रश्न’ (नेपाली र हिन्दी संयुक्त) कथाकृति एक विशेष कार्यक्रमकाबीच प्रज्ञा भवनमा लोकार्पण भएको छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव रहेका थिए। अन्य आमन्त्रित व्यक्तित्वहरूमा पूर्व मन्त्री शरतसिंह भण्डारी, समालोचक प्रमोद प्रधान, प्रा.डा. विनोदकुमार विश्वकर्मा, पूर्व सांसद प्रकाश अधिकारी, डिल्लीराम शर्मा, पुस्तक प्रकाशक बलराम महतो, ओम मास्के र प्रदीप घिमिरेलगायतको उपस्थिति रहेको थियो।

‘प्रश्न’ कथाकृतिको मञ्चासीन व्यक्तित्वहरू लगायत सभाकक्षमा उपस्थित सबै साहित्यप्रेमीहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको थियो ।

प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले के का लागि लेख्ने र कसका लागि लेख्ने भन्ने कुराको चर्चा गर्दै देशमा राजनीतिक परिवर्तन त भयो तर सामाजिक र आर्थिक परिवर्तन हुन नसकेको यथार्थ बताउनुभयो। सामाजिक र आर्थिक लोकतन्त्र भएन भने राजनीतिक स्थायित्व पनि हुँदैन भन्दै उहाँले यसका लागि सामाजिक चेतना हुनु जरुरी भएको बताउनुभयो । चेतना परिवर्तनमा लेखक, कवि तथा कलाकारहरूको ठूलो हात हुने बताउनुभयो । कथाकार डा. रेखा यादवलाई बधाई दिँदै उहाँले डा. रेखाको सामाजिक र राजनीतिक देनको चर्चा पनि गर्नुभएको थियो ।

समालोचक प्रमोद प्रधानले कथाकार डा. रेखा यादवका बारे बोल्दै उनको यो पाँचौं कृति भएको बताउनुभयो।  कथाकृति पहिलो रहेको र यसअघि ‘आत्मचाह’ उपन्यास, कविताकृति ‘सुस्तरी’ लगायतका कृतिहरू प्रकाशनमा आइसकेको बताउनुभयो । यो प्रश्न कथाकृतिमा २२ वटा कथाहरू रहेको र ती कथाहरू हाम्रै वरिपरिका कथा भएको पनि बताउनुभयो । कथा लेख्नुभनेको जिम्मेवारी काम हो भन्दै उहाँले कथाको शीर्षकबाट नै थाहा हुन्छ कि कथाकारलबाट हाम्रै समाजमा रहेको, आफूले देखेका र भोगेका कथाहरू लेखिएको छ।

नारी संवेदना, महिला अस्मिता र समता, तराईमा देखिएको दाइजो प्रथाको समस्या, यौनिक अल्पसंख्यकहरूको पीडा, वैदेशिक रोजगारीका कारण उत्पन्न पीडा, सामाजिक सञ्जालबाट जोडिएको सम्बन्ध र त्यसपछिको पीडालाई नारी पात्रहरू मार्फत् कथाका रूपमा प्रस्तुत गरेको उहाँले बताउनुभयो । सामाजिक अभियान, राजनीति र साहित्यमा सक्रिय डा. रेखा यादवले कथाको अन्तमा प्रश्न उठाएर पाठकसँग जोडिन चाहेको कुरा बताउँदै जुन अरू कथाकारहरूमा देखिँदैन, समीक्षक प्रधानले भन्नुभयो ।

वक्ता प्रा.डा. विनोदकुमार विश्वकर्माले हिन्दी भाषामा रहेका २२ वटै कथाहरूका बारेमा हिन्दीमै बोलेर संक्षेपमा प्रकाश पार्नुभएको थियो ।

सभापतिको आसनबाट साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै कथाकार डा. रेखा यादवको संक्षिप्त परिचयसहित उहाँको व्यक्तित्व र कृतित्वमाथि संक्षेपमा प्रकाश पार्नुभएको थियो । डा. यादव समाजसेवी, राजनीतिज्ञ मात्र नभई साहित्यकार पनि भएको बताउँदै उहाँले नेपाली, हिन्दी, मैथिली र अंग्रेजी गरी चार भाषामासमेत कलम चलाउँदै आएको बताउनुभयो । उहाँका कथाहरूमा महिला उत्पीडन र आत्म सम्मानका विषयवस्तुहरू रहेको बताउनुभयो । उहाँले हाल साहित्यिक पत्रिकाहरूले व्यहोर्नुपरेको आर्थिक समस्याको बारेमा मञ्चासीन राजनीतिज्ञहरूलाई सत्तामा नभए पनि आवाज उठाइदिनुहुन आग्रह गर्नुभएको  थियो ।

कार्यक्रममा पुस्तक प्रकाशक बलराम महतो, पूर्व मन्त्री शरत सिंह भण्डारीले डा. यादवको साहित्य सिर्जनाका बारेमा संक्षेपमा प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

लेखकीय मन्तव्य राख्दै डा.रेखा यादवले हालसम्म आफूले २१ वटा पुस्तक लेखिसके पनि ती दराजमा थन्किएको बताउनुभयो । सफल साहियकार बन्न सरस्वती मात्र भएर नहुँदोरहेछ लक्ष्मी पनि हुनुपर्दोरहेछ भन्दै आर्थिक पाटोलाई उघार्नुभएको थियो । आफ्नो पिता रामनारायण यादवको औँला समाएर हिँड्को  स्मरण गर्दै यादवले समाजमा देखिएका महिलाप्रतिको दृष्टिकोण र महिला भएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न नपाउने परिस्थितिबारे चर्चा गर्नुभएको थियो । कथाहरू पढेर पाठकले जवाफ पाउनुहुनेछैन कथामा प्रश्न गरेकी छु भन्दै कथा पढेपछि पाठकले जवाफ भेटेमा वा कुनै जिज्ञासा, सल्लाह र सुझाव भएमा पुस्तकमा रहेको इमेलमा लेखिपठाउन समेत आग्रह गर्नुभयो । सम्बोधनका क्रममा उहाँले पुस्तकको आवरण भावार्थ भएको पनि बताउनुभयो ।

कार्यक्रममा साहित्यिक पत्रकार संघको तर्फबाट कथाकार डा. यादवलाई सम्मान गरिएको थियो भने कथाकारका तर्फबाट पुस्तक प्रकाशक बलराम महतोलाई सम्मान गर्नुका साथै आमन्त्रित व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा भोटेकोसीको बाढीबाट निधन भएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

सापसको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको सो कार्यक्रम युवा पत्रकार स्मृति मिश्रले सञ्चालन गर्नुभएको  थियो ।

प्रतिक्रिया दिनुहोस्: