साहित्य सन्ध्याको मासिक शृङ्खलामा विविध साहित्यिक कार्यक्रम

७ आश्विन २०८३

२०८३ असोज ३ गते शनिबार, काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ४८० औँ विशेष शृङ्खलामा ‘नेपाली समाजमा प्रचलित चाडबाड र रूपान्तरण’ विषयमा विशद चर्चा गरिनुका साथै वरिष्ठ पत्रकार एवम् साहित्यकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासङ्ग्रह ‘सत्ताको मान्छे’ को परिचर्चाका साथ कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा संस्कृतिविद् प्रा.डा.सोमप्रसाद खतिवडा उपस्थित हुनुहुन्थ्यो । विशिष्ट अतिथिको रूपमा प्रा.डा.हेमनाथ पौडेलको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा.सोमप्रसाद खतिवडाले ‘नेपाली समाजमा प्रचलित चाडबाड र रूपान्तरण’ विषयमा विशद चर्चा गर्नुुहुँदै चाडबाड भनेका खुसियाली मनाउने हाम्रा परम्परा हुन्, सम्पदा हुन् । हाम्रा चाडबाडहरू देखेर सुनेर संसारका मान्छे चकित हुन्छन् । मान्छेभन्दा बढी मूर्तिहरू, चाडबाड पाइन्छन् । हाम्रो समाजका चाडबाड, जात्रा र सम्पदा सबै हाम्रा संस्कृति हुन् । हाम्रो मुलुकमा एक हजारभन्दा बढी चाडबाड, जात्रा, पर्व मनाइन्छन् । वास्तवमा संस्कृति भनेको नै मान्छे हो, उसका परम्परा हुन् । जात्रा, पर्व, चाडबाडमा समयानुकूल पुस्तान्तरण र रूपान्तरण आवश्यकीय कुरा हो र त्यसो गर्नसकिएन भने पहिचान पनि समाप्त भएर जान्छ । त्यसैले हाम्रा चाडबाडको गरिमा राख्नु पनि आवश्यक छ र राज्यका तहबाट मात्र होइन जनताकै तहबाट पनि समयसापेक्ष पार्ने खालको रूपान्तरण आवश्यक रहेको छ, भन्ने धारणा राख्नुभयो ।

विशेष अतिथि प्रा.डा.हेमनाथ पौडेलले वरिष्ठ पत्रकार एवम् साहित्यकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासङ्ग्रह ‘सत्ताको मान्छे’को परिचर्चा गर्नुभयो । थपलियाको राजनैतिक, पत्रकार र साहित्यकार व्यक्तित्व रहेको देखिन्छ । यस ‘सत्ताको मान्छे’ कवितासङ्ग्रहमा १६४ ओटा कविता सङ्गृहित रहेका छन् । स्रष्टाको आफ्नो सिर्जनामा जीवनभोगाइका प्रभाव लेखिने, समाजको यथार्थ लेखिने भएकाले सत्ताप्रतिको आशक्ति, विद्रोह, क्रान्तिजस्ता साहित्यिक सामाजिक विशेषता यी कवितामा रहेको देखिन्छ । राष्ट्रियता, मानवीयता, प्रकृति, असन्तुष्टि, सत्ताको अहङ्कार, मूल्यहीनता, जनउत्तरदायित्वको कमीजस्ता यथार्थपरक विषयलाई पनि कविताले उजागर गरेका छन्, भन्नुभयो ।

समारोहमा ओमप्रसाद कोइराला, राम विनय, शिवप्रसाद आचार्य, कुमार नेपाल, नवराज श्रेष्ठ, आभा सेतु सिंह, डा.मनोज जोशी, बैरागी जेठा, बलराम विष्ट, ललित बस्नेत भिमाली, डम्बर पहाडी एलाक, कात्यायन, गायत्रीकुमार चापागाईँ, डा.विष्णुहरि नेपाल, प्रशान्त खरेल, दुर्गा घिमिरे, केदारनाथ आचार्य, दिनेश खरेल, राजाराम राउत, प्रा.डा.हेमनाथ पौडेल, केशव ज्ञवाली आगत, डा.रूपनारायण श्रेष्ठ, अर्जुन अन्योल, चेवन बस्नेत, कृष्णप्रसाद पौडेल, लक्ष्मण रायमाझी र गोपालप्रसाद थपलियाले आआफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।

वाचित रचनामाथि समीक्षा गर्नुहुँदै समालोचक उपप्रा.रूपक अलङ्कारले आजको यो समारोहमा वाचित कविताले सामाजिक विकृति–विसङ्गतिका पक्षलाई, चिन्तनमा ज्ञान हुने यथार्थलाई, देखिएको र भित्रको मान्छे फरक परेको सत्यलाई समेटेका छन्, भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: