कलाकार आर. एन. जोशीको नाममा सङ्ग्रहालय स्थापना हुने

९ आश्विन २०८३

२०८३ असोज, ललितपुर । आधुनिक नेपाली ललितकला क्षेत्रमा विशिष्ट योगदान दिएका मूधर्न्य कलाकार रामानन्द जोशी (वि.सं.१९९५–२०४५) (सन् १९३८–१९८८) को नाममा सङ्ग्रहालय स्थापना हुने भएको छ । जोशीले जीवनकालमा सिर्जना गरेका कलाकृति, योगदान तथा कला अभियानका विविध पक्षलाई समेटेर पुल्चोकमा आर. एन. जोशी आधुनिक कला सङ्ग्रहालय स्थापना गरिएको हो । सङ्ग्रहालयका बारेमा जानकारी दिँदै रामानन्द जोशी कला ट्रस्टका अध्यक्ष तथा रामानन्दका सुपुत्र नवीन जोशीले नेपाली आधुनिक कलाको अध्ययन, संरक्षण तथा सार्वजनिक समझदारी अभिवृद्धिका लागि ‘इम्ब्रिकेटेडः आर. एन. जोशी एण्ड द मेकिङ अफ नेपाली मोडर्न आर्ट’ शीर्षकमा प्रदर्शनीसमेत गर्न लागिएको जानकारी दिए । उनले नेपाली कला जगतमा रामानन्दले पुर्‍याएको अतुलनीय योगदानको सम्मान स्वरूप सङ्ग्रहालय स्थापना गर्न लाएिको सुनाए ।

उनले भने, ‘आर. एन. जोशीको जीवन र सिर्जनालाई प्रवेशबिन्दु तथा प्रस्थानबिन्दु दुवैका रूपमा प्रयोग गर्दै, प्रदर्शनीले नेपालमा आधुनिक कलाको विकासलाई आकार दिने कलात्मक अवधारणा, सांस्कृतिक आदानप्रदान, शैक्षिक संस्था तथा ऐतिहासिक परिस्थितिको अध्ययन गर्दछ ।’ जोशीले सङ्ग्रहालयको स्थापना नेपालको कलात्मक सम्पदाको संरक्षण तथा त्यसलाई सार्वजनिक पहुँचमा ल्याउने दिशामा एक महत्त्वपूर्ण कदम हुने जिकिर गरे ।

रामानन्द जोशीले २०१६–२०२१ सालमा सर जे.जे. स्कुल अफ आर्टमा अध्ययन गरेका थिए । अध्ययनपश्चात् नेपाल फर्केर उनले नेपालको आधुनिक कलाको विकासमा विशिष्ट योगदान दिए । उनले नेपालको प्रकृति, संस्कृति, समाज, जनजीवन, राजनीति, संस्कारलगायतका बहुविधामा कलामार्फत योगदान दिए । नेपालका विभिन्न भागमा पुगेर त्यहाँको समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणबाट अध्ययन गर्दै क्यानभासमा उतारे । रामानन्दले रचना गरेका यिनै विविध विषय समेटेका कला र नेपाल एवं विश्वको तत्कालीन अवस्थाको तुलना गर्दै सङ्ग्रहालयलाई अध्ययनको केन्द्र बनाइएको छ ।

काठमाडौँ विश्वविद्यालयमा अध्यापनरत् कला इतिहासकार प्रणवमान सिंहले सङ्ग्रहालयको क्युरेसन गरेका हुन् । सिंहले नेपाली आधुनिक कलाको कालखण्डलाई बुझ्‌न निकै सहज हुने जिकिर गर्दै नेपाली समाजसँगै कलाक्षेत्रको अध्ययन अनुसन्धानमा सङ्ग्रहालय केन्द्र बन्न सक्ने धारणा व्यक्त गरे । क्युरेटर सिंहले कलाकार रामानन्द (आर. एन.) जोशीको पूर्वनिवास तथा स्टुडियोमा अवस्थित यस सङ्ग्रहालयलाई केवल कलाकृति अवलोकन गर्ने स्थलका रूपमा नभई कला, अभिलेख र इतिहासको सङ्गमस्थलका रूपमा परिकल्पना गरिएको जानकारी दिए । उनले भने, ‘कलाकृति, फोटोग्राफ, व्यक्तिगत कागजात, पत्राचार, प्रकाशन, विविध अभिलेखीय सामग्री तथा अन्य ऐतिहासिक सामग्रीमार्फत सङ्ग्रहालयले दर्शकलाई सन् १९५० को दशकदेखि नेपाली आधुनिक कलाको विकासक्रम अन्वेषण गर्ने अवसर प्रदान गर्दछ ।’ सिंहले प्रदर्शनीका अतिरिक्त सङ्ग्रहालयले अभिलेख तथा शैक्षिक कार्यक्रममार्फत अनुसन्धान, संवाद र सार्वजनिक सहभागितालाई प्रोत्साहन गर्ने लक्ष्यसमेत राखेको जानकारी दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव डा. धनप्रसाद सुवेदीले नेपाली ललितकलाको विकासक्रम बुझ्‌नलाई सङ्ग्रहालय निकै उपयुक्त हुने बताए । सङ्ग्रहालय भ्रमणका क्रममा उनले नेपाली कलाको आधुनिक युगको अध्ययनमा प्रदर्शनीले सहयोग पुर्‍याउने सुनाए । यस्तै, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव कुश्मा महरा प्रगतिले कला र कलाकारको सम्मान गर्ने उद्देश्यसहित परिवारबाट नै स्थापित सङ्ग्रहालयले नेपालको कलाको अवस्था बुझ्‌न मद्दत मिल्ने बताइन् । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले सङ्ग्रहालयले कलाकार जोशीको कला, अभियान, सामाजिक दृष्टिकोण बुझ्‌नलाई निकै सहयोग पुग्ने बताए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव देवेन्द्र थुम्केलीले कलाकार रामानन्द जोशीले नेपाली ललितकला क्षेत्रमा दिएको योगदानलाई चीरस्थायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले कलाकार जोशीको कलायात्रा, नेपाली समाज, संस्कृति, प्रकृति, विश्व परिवेश, नेपाली राजनीति तथा नेपाली कलाको विकासक्रम बुझ्‌नलाई सङ्ग्रहालय अध्ययनको केन्द्र बन्न सक्ने जिकिर गरे ।

अग्रज मिथिला कलाकार एससी सुमनले नेपाली आधुनिक कलाको वस्तुस्थिति सहज ढङ्गले बुझ्‌न सङ्ग्रहालय सफल रहेको सुनाए । उनले नेपालको आधुनिक तथा समसामयिक अवस्थालाई रामानन्दका कलामार्फत आम कलापारखीमाझ पस्कन सङ्ग्रहालय सफल हुने विश्वास प्रकट गरे ।

ट्रस्टका अध्यक्ष नविन जोशीले सङ्ग्रहालय नेपालमा आधुनिक कलाको इतिहासको संरक्षण, अनुसन्धान तथा प्रस्तुतीकरणका लागि समर्पित संस्था रहेको बताए । उनले सङ्ग्रहालयले कलाकृति, अभिलेखीय सामग्री तथा ऐतिहासिक दस्तावेजहरूलाई एकै स्थानमा समेट्दै नेपालको आधुनिक कलात्मक परिदृश्य निर्माणमा योगदान पुर्‍याउने व्यक्तित्व, संस्था तथा विचारको विकास गर्ने उद्देश्य राखेको सुनाउँदै सङ्ग्रहालयको उद्घाटन केही दिनपछि गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: