साहित्यकार इल्यालाई लीलाध्वज थापा स्रष्टा सम्मान प्रदान गरिने

१८ आश्विन २०८३

काठमाडौ। नेपाली साहित्यमा कथा, नियात्रा, यात्रा संस्मरण, बालकथा आदिका दर्जनभन्दा बढी पुस्तक प्रकाशन गर्नुभई नेपाली भाषा साहित्यमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएकी  साहित्यकार इल्या भटराईलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गरिने निर्णय भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी गराउनुभएको छ ।

नेपाली मौलिक सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्नुभएका यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा २०७३ मा स्थापना गरिएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यो सम्मान प्रदान गर्न लागेको हो । उक्त प्रतिष्ठानले हालसम्म मासिक/त्रैमासिक कार्यक्रम अन्तर्गत ८३ जना र वार्षिक कार्यक्रम अन्तरगत १० जना अग्रज साहित्यकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिसकेको जानकारी प्रतिष्ठानका  अध्यक्ष थापाले दिनुभएको छ । आफ्नै पारिवारिक स्रोतबाट सन्चालनभएको सो संस्थाले प्रदान गर्ने पुरस्कारको राशी वार्षिक २५,०००/ र त्रैमासिक राशी १०,०००/ रहेकोसमेत उहाँले जानकरी गराउनुभयो ।

साहित्यकार इल्याका पिता श्री मदनमणि दीक्षित र माता श्रीमती रिता दीक्षित हुनुहुन्छ । उहाँको जन्म २८ नोभेम्बर १९५५ भएको र हाल दोचामार्ग, महाराजगन्ज, काठमाडौं बस्नु भएकी भटराईले बि.ए., बि.एडसम्मको शिक्षा हासिल गर्नुभएको छ । दर्जनौ पुरस्कार र सम्मानबाट सम्मानित हुनुभएकी इल्याले धेरै पुस्तक तथा पत्रिकाको सम्पादन गर्नुका साथै धेरै संस्थाहरूमा संलग्न हुनुहुन्छ । २ दर्जनभन्दा बढी मुलुकको यात्रा गरी सक्नुभएकी इल्या हालसम्म नेपाली साहित्यमा सक्रिय हुनुहुन्छ ।

यही २०८३, असोज २४ गते हुने त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान/ पुरस्कारको कार्यक्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्: