श्रीओम श्रेष्ठ ‘रोदन’ को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित

१० आश्विन २०८३

२०८३, असोज ९ गते, काठमाडौँ । साहित्यकार श्रीओम श्रेष्ठ रोदनको नविनतम् नियात्रासङ्ग्रह ‘विदेशमा देश’ को लोकार्पण भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा घनश्याम राजकर्णिकार, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रमोद प्रधान, छविरमण सिलवाल, केशव पराजुली, ‘रोदन’दम्पति लगायतले उक्त कृति लोकार्पण गरे ।

दर्जन भन्दाबढी मौलिक कृति र डेढ दर्जन जति कृति सम्पादन गरिसकेका रोदनका प्राय नियात्रा आफूँले पढेको बताउँदै घनश्याम राजकर्णिकारले भने, ‘रोदन’ का कृतिहरू तथ्यको सन्निकट भएको पाएको छु। उनका नियात्राहरू विवरणात्मक मात्र हुँदैनन्, निजात्मक पनि हुन्छन् । अझै उनको निरन्तर भाषा, साहित्यको सेवा गर्ने कुरा अनुकरणीय छ ।

कृतिमाथि चर्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले भने, श्रीओम नढाँटी लेख्ने इमान्दार लेखक हुन् । नियात्राहरू अरूको भन्दा पृथक पनि लाग्छन् । देखेको कुरा जसले नि लेख्छ तर फरक ढङ्गले लेख्नुपर्छ, उनको लेखनीमा यही फरकपना छ । कृतिमा विदेशका विभिन्न सन्दर्भहरू र परिवेशहरू आएको बताउँदै उनले अगाडि भने, तथ्यहरू भएको नियात्रामा पाठकले विभिन्न विषयहरूसँग स्वदेशलाई तुलना गर्न सक्छन् । विकसित देशका राम्रा पक्षमात्र नभएर कमजोरी पनि केलाइएको छ । नियात्रामा सहयात्रीसँग वार्ता पनि गरिएको छ । सूक्ष्म विषयहरू पनि आएका छन् । काव्यात्मक चेत र दार्शनिक वाक्यहरू पनि प्रयोग भएका छन् ।

प्रा.डा.लक्ष्मणप्रसाद गौतमले रोदनमा भएको सिर्जनशील उर्वरताको प्रशङ्सा गरे । प्रा.डा.गौतमले रोदनका रचनाहरू स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयहरूमा पढाइ हुने गरेको पनि बताए । उनले साहित्यिक क्षेत्रमा देखिएको पुरस्कार लेनदेनको विषयलाई विकृतिको रूपमा औँल्याए ।

रोदनकी धर्मपत्नी ललिता श्रेष्ठले १३ औँ कृति प्रकाशन भएकोमा खुशी बाँड्दै पुराना दिनहरू स्मरण गरिन् । उनले रोदनसँगका विभिन्न अनुभूतिहरू पनि साझा गरिन् ।

भुँडीपुराण प्रकाशनका केशव पराजुलीले अग्रज साहित्यकारको कृति प्रकाशन गर्न पाएकोमा खुशी व्यक्त गर्दै कृतिको निम्ति रोदनलाई बधाई दिए ।

सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो । शुभद्रा अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव प्रदीप सापकोटाले गरेका थिए ।

‘रोदन’का नबिर्सने दिनहरू र समुन्द्रवारि, समुन्द्रपारि दुई नियात्राकृतिसहित विभिन्न विधाका तेह्रवटा कृतिहरू प्रकाशित छन् ।

विदेशमा देशलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: