
काठमाडौ, २०८१ असोज १७ गते विहीबार। नारी साहित्यकार एवम् समालोचकहरूको साहित्यिक संस्था ज्ञानचक्षु साहित्य प्रतिष्ठानको आयोजनामा आदरणीय कवि, साहित्यकार तथा समालोचक पद्म कन्या क्याम्पस बागबजारकी, नेपाली विभाग प्रमुख उपप्राध्यापक डा. अम्बिका अर्यालको मुक्तकसङ्ग्रह “भावदीप” को पद्मकन्या क्याम्पसको डेनिस हलमा एक समारोहबीच विमर्श तथा लोकार्पण गरिएको छ।
कार्यक्रममा कन्याहरू दिया थापा, दर्शना थापा, अपेक्षा बास्तोला, विद्या पौडेल, विपश्वी ढकाल, सोनु श्रेष्ठ, प्रसिका गौतम, सम्भवी ढकाल, श्रीसा श्रेष्ठ, यमुना शाह, अस्मिता बस्नेतसहितको हातबाट उक्त कृति लोकार्पण गरिएको थियो ।
साहित्यमा नारी सहभागितालाई प्रभावकारी बनाउँदै नारी साहित्यको विस्तार गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रमका अध्यक्ष, सञ्चालक एवम् समीक्षकहरू पनि सबै नारीस्रष्टाहरू नै हुनुहुन्थ्यो।
कार्यक्रममा समीक्षक मनमाया पोखरेलले नारीचेतनाका दृष्टिबाट र दिव्येश्वरी जोशीले शिल्पपक्षका आधारमा लोकार्पित कृतिको समीक्षा गर्नुभएको थियो भने डा. शान्तिमाया गिरीले विषयवस्तु र समसायिकताबारे प्रकाश पार्नुभएको थियो ।
लोकार्पण तथा समीक्षाको उक्त कार्यक्रममा साहित्यकार राधिका गुरागाईं र रमा के.सी., सञ्चारकर्मी हेम भण्डारी र भगवती बस्नेतको साथै सङ्गीतकार सन्तोष श्रेष्ठले लोकार्पित कृतिका मुक्तकहरू वाचन गर्नुभएको थियो ।
उषा आचार्यले सञ्चालन तथा सहजीकरण गरेको कार्यक्रममा साहित्यकार पुष्कर लोहनीले शुभकामना मन्तव्य दिनुभएको थियो।
समालोचक तथा आख्यानकार डा. अर्यालका उपन्यासलगायत आधा दर्जनबढी समालोचना कृतिहरू प्रकाशित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्: