
काठमाडौं, असोज १८ गते शुक्रबार । नोबेल साकोस साहित्य संस्थाले नयाँ बानेश्वर स्थित रत्नराज्य पुस्तकालयको सभा हलमा साहित्यकार सुशीला ढकाल अधिकारीको ‘गोरखाली गुराँस’ कवितासङ्ग्रहको वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्य र भुँडी पुराणका सञ्चालक केशव पराजुलीको सभापतित्वमा लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । उक्त समारोहमा विशिष्ट अतिथिको रूपमा डा. शैलेन्दुप्रकाश नेपाल, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. गोविन्दमानसिंह कार्की, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रा.डा.रामप्रसाद ज्ञवाली र उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले स्रष्टा ढकालको कविता कृति ‘गोरखाली गुराँस’ को बारेमा समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कवि दिवसले कक्षामा पढाएको जसरी पढाएर र सिकाएर कविता नलेखिने बताउनुहुँदै विनाआग्रह, पूर्वाग्रह कविले लेखेका सूक्ष्मतम् मानवीय संवेदनाका अनुभूतिहरू नै कविता हुन्, तिनै कविता लेखिएपछि नियम बन्ने हो, नियम बनाएर कविता नलेखिने कुरा बताउनुभयो । उहाँले हरेक कविका कविताहरू नवीन, मौलिक र निजत्व दर्शाउने हुनुपर्छ भन्ने कुरामा जोड दिनुभएको थियो । कविले कविता चिनाउँदै हिड्ने हैन, स्वयम् कविताले कविलाई चिनाउन सक्नुपर्छ । कुनै पाठकले कविता पढ्दा यो कविता यो कविको हो भनेर त्यसमा उसको आकृति झल्कनुपर्छ, प्रमुख अतिथि कवि दिवसले भन्नुभयो ।
लोकार्पण समारोहमा प्रा.डा.गोविन्दमानसिंह कार्की, डा.शैलेन्दुप्रकाश नेपाल, डा.छायादत्त न्यौपाने, पत्रकार शान्ताराम बिडारी, कवि चन्द्रा न्यौपाने, कवि दुर्गा अधिकारी भमरकोटे, कवि सन्तोषकुमार पोख्रेललगायतले कवि सुशीला ढकाललाई शुभकामना र बधाईको साथै कविता कृतिका विविध पाटा र सन्दर्भका बारेमा प्रकाश पार्नुभएको थियो । त्यस अवसरमा गायक तथा सङ्गीतकार शिशिर योगीले गीत/सङ्गीत प्रस्तुत गर्नुभएको थियो ।
नोबेल साकोस साहित्य संस्थाका संस्थापक राजन न्यौपानेले सञ्चालन तथा सहजीकरण गर्नुभएको लोकार्पण कार्यक्रममा स्रष्टा सुशीला ढकालले कविता लेखनका विविध पक्ष र त्यसक्रममा भए/गरेका सजिला, असजिला विषयहरूका बारेमा प्रकाश पार्दै उपस्थित अतिथिहरूमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा ‘गोरखाली गुराँस’ कवितासङ्ग्रहकी लेखिका स्रष्टा सुशीला ढकाल अधिकारीलाई लालित्य सिर्जना समाज, ललितपुरले सम्मान पनि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: