दौडेको घोडा लस्केको हात्ती स्वभाव भिन्न छ
बखान आफ्नै गरेको देख्छु प्रश्नको चिन्ह छ
सडक गल्ली हल्ली र खल्ली चर्को छ आवाज,
व्यापार उस्को चाहेको सारा साम्राज्य किन्न छ ।१।
छचल्किँदै पोखियोस् ममताको प्यास छ साथी
निरुत्तर छु यहाँ, सवाल लिएर उदास छ साथी
कुरा गर्नेलाई सुविधाको मञ्च मिलोस् हे ईश्वर !
ज्ञानज्योति कसरी छर्ने भयावह त्रास छ साथी ।२।
प्रतिद्वन्दीको अझै तलाश छ भेटिन्छ भने
जोगाएको हाम्रो धरोहर यहाँ मेटिन्छ भने
होसियार ! हेर धर्ती फेरि डगमगाउन सक्छ,
कोपिला बिनाकसुर धारले रेटिन्छ भने ।३।
सोचेथेँ त्यहाँ शत्रु मात्र दुई, चार छन्
संवेदना हराएका मान्छेका बजार छन्
भुइँमा नटेकी सधैं कसरी उडान भर्लान्,
आडम्बरीले थालेका त्यस्तै व्यापार छन् ।४।
छचल्किँदै पोखिएको आँखाको पानी न हो
प्रायः जसो भोगाइ र पीडाको कहानी न हो
कस्तो प्रतिबिम्ब उर्लिएर तैरिएको छालको
उदाउनु अस्ताउनु आखिर जिन्दगानी न हो ।५।
बनेपा, काभ्रे
प्रतिक्रिया दिनुहोस्: