प्राकृत जीवन–शैली अपनाउनसके जीवन सधैं सुखी र खुशी रहन्छ
प्रभा भट्टराई आचार्य
ताहाचल, काठमाडौं ।
प्रोफेसरको दैनिकीको यसपालिको अङ्कमा पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारका नेपाली विभागका सह–प्राध्यापक प्रभा भट्टराई आचार्यको दैनिकी तयार पारेका छौँ । रेग्मीको दैनिकी काठमाडौं युरो आईबी वर्ल्ड स्कुल, टोखा–८, गोँगबुँ, बानियाँटार, काठमाडौंका बहिनीहरू रोनिशा अधिकारी (कक्षा : ५), अविशा के.सी. (कक्षा : ८) र प्रायुषा घिमिरे (कक्षा : ९) ले तयार पारेका हुन् । स्कुल परिसरमा गरिएको कुराकानीका आधारमा भाइबहिनीहरूले तयार पारेको आचार्यको दैनिकी सङ्क्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।

१. बिहान कति बजे उठ्नुहुन्छ ?
– म बिहान ६ः००–६ः३० तिर उठ्छु ।
२. उठेपछि पहिला के गर्नुहुन्छ ?
– कराग्रे बसते लक्ष्मी ..गुनगुनाउँदै हात ढोग्छु । बाल्यकालदेखि नै यस्तै बानी छ ।
३. बिहानको खास कार्यतालिका के हुन्छ ?
– सामन्य ! स्नान गरेर जल–फूल अर्पण गर्छु र पाकेको खाएर क्याम्पसतिर लाग्छु ।
४. बिहान खाजा खानुहुन्छ कि हुन्न ?
– शनिबार बाहेक अरू दिनमा खाना खाएर नै निस्कन्छु ।
५. खाजा खाने भए के खानुहुन्छ ?
– कहिले काहीँ बिदाको दिनमा सुख्खा रोटी र चिया, दूध–कन्फ्लेक्स् खान्छु ।
६. खाना कति बजे खानुहुन्छ ?
– म प्रायः जसो बिहान नौ बजे खान्छु ।
७. खाना कस्तो मीठो लाग्छ ?
– दाल–भात–तरकारी ! अचार अनिवार्य छैन, बरु सलाद, पापड इत्यादि जुटेको मन पर्छ ।
८. कलेज कतिबेला जानुहुन्छ ?
– कक्षा भएको दिनमा रुटिन अनुसार ! नत्र दस बजे जान्छु ।
९. कामको दैनिकी कस्तो छ ? के के गर्नुहुन्छ ?
– आजभोलि त कुनै तोकिएको काम भए समय मिलाउँछु नत्र सात महिनाको नाति छ, ऊसँग खेल्दाखेल्दै दिन बित्छ ।
१०. कलेजबाट कति बजे घर फर्किनुहुन्छ ?
– बाह्र बजेसम्म आइपुग्छु कुनै अतिरिक्त कार्यक्रम नपरेका दिनहरूमा !
११. घर आएपछि के गर्नुहुन्छ ?
– अँ, घर आइपुगेपछि फ्रेस भएर एक कप चिया खान्छु ।
१२. कलेज नगएको दिन के गर्नुहुन्छ ?
– लेखपढ गर्नुपर्ने बेलामा बाहेक भरसक बच्चाहरूसँग समय मिलाएर बाहिर घुम्न जान्छु ।
१३. दिउँसो खाजा खानुहुन्छ ?
– अवश्य ! बिहान छिटो खाना खाइन्छ नि !
१४. साँझ कसरी बित्छ ?
– साँझको समय परिवारको जमघट हुने समय हो । आ–आफ्ना दिनचर्या सकेर गफ्फिन बस्छौं र सरसल्लाह पनि यही समयमा हुन्छ ।
१५. राति कतिबेला खाना खानुहुन्छ ?
– सात बजेतिर हल्का भोजन गर्छु !
१६. साँझ खाना खाएपछि के गर्नुहुन्छ ?
– सोसल मिडिया हेर्ने, समाचार सुन्ने र सँगै नरहेका परिवारजनसँग फोनमा भलाकुसारी गर्ने अनि मन परेका पुस्तकका दुईचार पाना पल्टाएर दिन टुङ्गिन्छ ।
१७. राति कतिबेला सुत्नुहुन्छ ?
– म दस बजेतिर सुत्छु ।
१८. फुर्सद मिल्दा के गर्नुहुन्छ ?
– बच्चाहरूलाई मन पर्ने केही न केही लेखूँ जस्तो लाग्छ तर लेखिनु नलेखिनु आफ्नो हातमा नै हुँदैन । चित्त नबुझे च्यातेर फालिदिन्छु ।
१९. तपाईंको साहित्य लेखनको समय कुन हो ?
– खास कुनै समय हुँदैन । समय र मनस्थिति अनुकूल हुँदा जहिले, जहाँ पनि लेख्न बसिदिन्छु !
२०. घरपरिवारलाई कत्तिको समय दिनुहुन्छ ?
– पहिलो प्राथमिकता नै घरपरिवार हो मेरालागि !
२१. घरको काम कत्तिको गर्नुहुन्छ ?
– आवश्यकता अनुसार जति पनि गर्छु !
२२. बढी जाँगर लाग्ने काम कुन हो ?
– नियमितभन्दा केही अलग खाना बनाउन मन पर्छ ।
२३. अल्छी लाग्ने काम के हो ?
– चिया पकाउन अल्छी लाग्छ । भरसक आफूले पकाएर चिया खाँदिन ।
२४. हजुरको र आम मानिसको दैनिकीमा के फरक छ ?
– खासै फरक छ जस्तो त लाग्दैन तर शिक्षक र लेखक हुनु भनेको अलिकति बढी सामाजिक दायित्व बेसाउनु पनि हो । त्यसैले कहिलेकाहीँ घरायसी चाडपर्व, जमघट छुट्न पनि जान्छन् ।
२५. सामान्यतः आफ्ना दिनहरूलाई सुखी र खुशी राख्न के गर्नुपर्छ भन्ने लाग्छ ?
– सधैंभरि औपचारिक भइराख्दा, आफ्नो पद, प्रतिष्ठाको बारेमा सचेत भएर सम्मान खोजिरहँदा र कृत्रिम जीवन–शैली अपनाउँदा धेरै मान्छेको व्यक्तिगत जीवनमा सुख हराएको छ । सुखी र खुशी हुन सामान्य र प्राकृत जीवन शैली अपनाउनुपर्ने हुन्छ ।
२६. बिहान उठ्दा पहिला के सम्झनुहुन्छ र सुत्ने बेलामा के सम्झँदै सुत्नुुहुन्छ ?
– बिहान त सधैँ ताजा र नयाँ नै हुन्छ, ईश्वरलाई धन्यवाद दिन्छु । सपनाको धङ्धङी बाँकी रहेको दिन कुन सपना, कुन विपना ? रङ्मगिँदै बिहान बित्छ । दिनभर यसो–उसो बितिहाल्छ अनि रात परेपछि ला…! आजको दिन पनि यसै बित्यो हगि ? भन्छु आफैँसँग ! विशेष उपयोगी काम गर्न सकेको दिन मज्जाले निद्रा लाग्छ ।

प्रस्तुति
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
टोखा–८, गोँगबुँ, बानियाँटार, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: