काठमाडौं । साहित्य सन्ध्याले २०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ विख्यात भाषावैज्ञानिक, प्रखर समालोचक एवम् सशक्त निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई अर्पण गर्ने निर्णय गरेको छ ।
२४ सेप्टेम्बर १९४८ मा सुनसरी जिल्लाको धरान, विजयपुरमा पिता गङ्गाधर पोखरेल तथा माता कृष्णादेवी पोखरेलका सुपुत्रका रूपमा जन्मिनुभएका प्रा.डा.माधवप्रसाद पोखरेल नेपाली साहित्यमा भाषा अनुसन्धता एवम् विशेषज्ञका अतिरिक्त प्रखर समालोचक, निबन्धकारका रूपमा समेत सम्मानित र सुप्रतिष्ठित विशिष्ट व्यक्तित्व हुनुहुन्छ । ‘नेपाली साउन्ड सिस्टमको प्रयोगात्मक विश्लेषण’ विषयमा डेकन कलेज युनिभर्सिटी महाराष्ट्र, भारतबाट पोस्टग्राजुयट गर्नुभएका उहाँले नेपाल तथा भारतका प्रतिष्ठित संस्थाबाट विज्ञताको तालिमसमेत हासिल गर्नुभएको छ । जापानको कोबे युनिभर्सिटीबाट नेपाली तथा जापानी वाक्य व्याकरणको तुलनात्मक अध्ययन गर्नुभएको छ । सोही विश्वविद्यालयबाट ‘नेपाली र जापानी कोटिकारको अवधारणामा समानता’ विषयमा थप अनुसन्धान गर्नुभएको छ । नेपाली, अङ्ग्रेजी, हिन्दी, संस्कृत, जापानिज, प्राकृत, पाली, चाइनिज, कुसुन्डा, मराठी, सिंहालिज भाषाका जानकारसमेत रहनुभएका उहाँले झापाको लाफाती र खोटाङको किराती भाषाको अन्वेषणसमेत गर्दै नेपालका ४० भन्दा बढी भाषाको स्थलगत अनुसन्धान पनि गर्नुभएको छ । अलिखित रूपमा रहेका नेपालका ६९ भाषाका लेख्य रूप तयार पारिदिनुभएको छ ।
उहाँले विद्यालयदेखि विश्वविद्यालयसम्म र बेइजिङ विश्वविद्यालयमा नेपाली भाषा र साहित्यको अध्यापन गरी आफ्नो विशेषज्ञताको पुष्टि गर्नुभएको छ । पोखरलका नेपाल, भारत, जापान, चीन, स्विजरल्यान्ड, जर्मनी, अमेरिका र स्विडेनको भ्रमण गर्नुभएका भाषाविज्ञान, निबन्ध र समालोचनाका दर्जनौँ कृति प्रकाशित भएका छन् । जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (पहिलो ठेली)लगायत दर्जनौँ कृतिको तपाईँले सम्पादनसमेत गर्नुभएको छ । पूर्र्वीय दर्शन, व्याकरणका गहन अध्येता, वस्तुपरक समालोचना सिद्धान्तका विद्वान एवम् भाषाविज्ञानका नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित आधिकारिक विद्वान हुनुका साथै नेपाल सरकारको भाषा आयोगका विशिष्ट सल्लाहकारसमेत रहनुभई उहाँले भाषा विज्ञानका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट योगदान एवम् निर्माण गर्नुभएको अन्तर्राष्ट्रिय छवि, नेपाली वस्तुपरक समालोचनाका क्षेत्रमा पुर्याउनुभएको अतुलनीय, अनुकरणीय र विशिष्ट योगदान तथा नेपाली निबन्धका माध्यमबाट स्थापना गर्नुभएको गहकिलो मानकसमेत अत्यन्त अनुकरणीय रहेको मूल्याङ्कन गरी यी समग्रक्षेत्रमा उहाँले गर्नुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै उहाँलाई वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा स्थापित पचास हजार द्रव्यराशिको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान (२०८२) अर्पण गर्ने निर्णय गरिएको हो । उल्लिखित पुरस्कार तथा सम्मान यही २०८३ असोज २४ गते शनिबार आयोजना हुने विशेष समारोहमा अर्पण गरिने छ ।


प्रतिक्रिया दिनुहोस्: