सन्तोषीको कविताकृति ‘सुमेरण’ लोकार्पण

८ बैशाख २०८३

काठमाडौं, २०८२ वैशाख ७ गते । कवि सन्तोषी पाण्डेको कवितासङ्ग्रह ‘सुमेरण’ को आज एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा उपस्थित सबै साहित्यप्रेमीहरू रहेका थिए । अन्य मञ्चासिन व्यक्तित्वहरूमा समालोचक प्रमोद प्रधान, कवि विमल भौकाजी, कवि सन्तोषीकी माताश्री देउसदा पाण्डे, दाजु पवनजङ्ग पाण्डे, भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुली लगायतको उपस्थिति रहेको थियो। मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा कविताकृति लोकार्पण गरिएको हो।

लोकार्पित कृतिबारे समालोचकीय मन्तव्य राख्दै समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा सबैभन्दा बढी छापिने कृति भनेको कविताको हो। शब्दको जोड घटाउ मात्र नभएर कविता भनेको समवेदना र समवेदनालाई अनुभूतिमा प्रस्तुत गर्ने शैली पनि हो भनेर बताए। कवि सन्तोषीका कवितामा अभियन्ताको चेतना छैन कवि चेतना छ भनेर बताए।

कविता लेख्नु पनि एउटा पागलपन हो, कविता लेख्न त्यति सजिलो पनि छैन। नबुझुन्जेल कविता धेरै लेखे पनि शुरूका दिनमा कविले दिनको एउटा कविता लेखे पनि कविता बुझ्न थालेपछि कविता कम लेखिने गर्छ भन्दै उनलेे सन्तोषीको यो पहिलो कृति भए पनि कवितामा हुनुपर्ने गुणहरू भएको बताए। सङ्ग्रहभित्रका ३१ वटै कविताहरू प्रतिस्पर्धी रहेको बताए। अरूको पीडालाई आफूले अनुभूत गरेको कुरा सामान्य शब्द प्रस्तुत गरिएको र सो प्रभावकारी रहेको समेत बताउँदै कवि सन्तोषीलाई नेपाली साहित्यका अग्रजहरूको कृति अध्ययन गर्न पनि सुझाएका थिए।

सभाका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले विश्व बजारमा नेपाली साहित्यलाई पुर्‍याउन कृतिहरू छापिनुअघि राम्रोसँग सम्पादन गरिनुपर्ने बताउँदै दुई वर्षसम्म डायरीमा थन्किएर बसेका कविताहरू कृतिका रूपमा आएकोमा खुसी व्यक्त गरे। कविता भनेको समवेदना र अनुभूति हो। कविता भनेको प्रतिपक्ष हो।  कविता भनेको आफैँ सत्ताको पनि प्रतिपक्ष हो सन्तोषीका कविताहरू समय सापेक्ष छन् भन्ने  बताए।

कवि सन्तोषी पाण्डेले आफ्नो लेखककीय मन्तव्यमा सुमेरण एउटा नाम होइन यो मेरो जीवनको सबैभन्दा प्रिय सम्बोधन हो भनेर बताइन्। पुस्तकभित्रका हरेक शब्द, भावना हृदयको गहिराइबाट जन्मिएको बताउँदै जीवनका अनेक उतारचढावसँग जुद्धै मनभित्र थुप्रिएका अनुभूति, पीडा, आशा र विश्वास शब्दका रूपमा आकार लिएको बताइन्।

कवि विमल भौकाजीले कविताकृति सुमेरणको बारे बोल्दै कवि सन्तोषीका कविताहरूभित्र आफैँ पसेर आत्मसात गरेको बताए। उनका सबै कविताहरू प्रतिस्पर्धा गर्न लायक रहेको बताए।

कवि तथा गीतकार सुमन थापा ‘संगम’ले पनि सङ्ग्रहभित्रको एउटा कविता ‘कविताको जन्म’ वाचन गरेर सुनाएकी थिइन्।

कविताकृतिका प्रकाशक भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुलीले आफ्नो शुभकामना मन्तव्यमा पहिलो कृति भए पनि पठनीय भएकोले प्रकाशन गरिएको बताउँदै प्रकाशनको जिम्मेवारी पाएकोमा आभार प्रकट गर्दै धन्यवाद दिएका थिए।

कार्यक्रममा साहित्यकारहरू प्रा.डा. गोविन्दमानसिंह कार्की, राजेश खनाल, श्रीराम राई, ऋतु कंडेल, सुमेरण पाण्डे लगायतको उपस्थिति रहेको थियो। अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको सो कार्यक्रम सुभाष चन्द्र पौडेल ‘भीमफेदीया’ले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: