२०८२ वैशाख ९, काठमाडौं । नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ उदयपुरकी मालावती काफ्लेलाई हिजो अर्पण गरियो । नगद राशि २० हजार १११ रुपैयाँसहित सो सम्मान मालावतीलाई प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ, समाजका पूर्वअध्यक्ष विधान आचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, पुरस्कार संस्थापककात प्रतिनिधि इन्द्रकुमारी खनाल लगायतले काफ्लेलाई सम्मान अर्पण गर्नुभएको थियो ।
समाजकी पूर्वमहासचिव तथा गीतकार पुष्पा खनालले यो सम्मान २०७५ सालमा आफ्नी माता दमन्ता खनालको स्मृतिमा स्थापना गर्नु भएको हो ।
सामाजिक अन्यायविरुद्ध आवाज उठाउँदै आउनु भएकी काफ्लेले झ्याउरे गीत सिर्जना गर्नुहुन्छ । उहाँले संगिनीका माध्यमबाट सामाजिक रुपान्तरणको आवाज अभिव्यक्त गर्दै आउनु भएको छ ।

कार्यक्रममा गीतकार पुष्पा खनालले रचना गरेको गजल ‘पिरतीको गीत’ को लिरिकल भिडियो पनि लोकार्पण गरियो । गायक गंगा सोनामले सो गीतको केही अंश गाएर सुनाउनु भयो । यो गजललाई नरेन्द्र प्यासीले संगीतबद्ध गर्नु भएको हो ।
नेपाल स्रष्टा समाजका महासचिव प्रकाश घायलको सभापतित्वमा आयोजना भएको सो कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष विधान आचार्यले सम्मानित स्रष्टा काफ्लेका बारेमा चर्चा गर्नु भयो । उहाँले उदयपुरको चुहाडेकी मालावती काफ्ले नारी सशक्तिकरण र महिला उत्थानका लागि पहल गर्ने नारी स्रष्टा भएको बताउनु भयो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले उपर्युक्त पात्रलाई छनौट गरेको भनेर समाजलाई धन्यवाद तथा सम्मानित व्यक्तित्व काफ्लेलाई बधाई दिनुभयो ।
हाल अमेरिकामा रहुनभएकी पुष्पा खनालले भिडियो सन्देशमार्फत सम्मानित स्रष्टा, अतिथि र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै पुरस्कार स्थापनाबारे बोल्नु भएको थियो ।

सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै मालावती काफ्लेले महिलाहरुलाई दुःख नहोस्, आफूले पढ्न नपाए पनि अरुले पढ्न पाऊन्, समाजमा कुनै समस्या नहोस् भनेर अहिले पनि आफू समाजसेवामै सक्रिय रहने गरेको सुनाउँदै महिला समूह बनाएर उनीहरुलाई शिक्षित र जागरुक बनाउँदै आएको बताउनुभयो । विगत ३०–३२ वर्षमा महिलाहरूको ठूलो उन्नति भएको स्वीकार गर्नुपर्ने पनि उहाँको भनाइ छ ।
कार्यक्रममा सभाध्यक्ष घायलले आफूसहित पुरस्कार संस्थापक पुष्पा खनाल र रञ्जना निरौला सदस्य रहेको समितिले काफ्लेलाई छनौट गरेको जानकारी दिंदै मालावतीलाई सम्मान गर्न पाउँदा समाज पनि सम्मानित भएको उहाँले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण समाजका सदस्य माधव विडारी चेतनपथले गर्नुभएको सो कार्यक्रममा समाजका सदस्य शंकर भारतीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
यो पुरस्कार २०७५ सालबाट नेपाल स्रष्टा समाजले प्रदान गर्दै आएको छ । यसअघि साहित्यकारहरु सिर्जना शर्मा, इन्द्रा गहतराज, डिक्रा वादी, प्रतिमा पोख्रेल, निर्मला मुरारी, लता गिरी, यमुना पराजुली र लक्ष्मी तिवारी (तिवारी आमा) सम्मानित भइसक्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्: