सन्ध्यामा शुभकामना विशेष कविगोष्ठी

१५ बैशाख २०८३

काठमाडौं, २०८३ वैशाख ५ गते शनिबार । साहित्य सन्ध्याको नियमित मासिक ४७५ औँ शृङ्खलामा ‘नववर्ष मनाउने परम्परा, प्रचलन र सन्देश’ विषयमा विशद चर्चा गरिनुका साथै शुभकामना विशेष कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा संस्कृतिविद् प्रा.दिनेशराज पन्त उपस्थित हुनुहुन्थ्यो ।

प्रमुख अतिथि संस्कृतिविद् प्रा.दिनेशराज पन्तले ‘नववर्ष मनाउने परम्परा, प्रचलन र सन्देश’ विषयमा विशद चर्चा गर्नुुहुँदै ऐतिहासिक रूपमा राजा मानदेवको पालामा ‘शक’ सम्वत् चलेको अर्थात् वि.सं. सुरु हुनुभन्दा १३५ वर्षअगाडि यो ‘शक’ सम्वत् चलेको थियो र यो ३०४ वर्षसम्म चल्यो । सम्वत् भन्ने कुरा राजासँग जोडिएको कुरा होइन; यो त गणित, भूगोल, हिसाबसँग सम्बन्धित कुरा हो । ऐतिहासिक, पौराणिक कालदेखि नै नयाँ वर्ष मनाउने परम्परा, प्रचलन रहेको मात्र होइन, यसको महत्त्व पनि धेरै रहेको छ भन्नेसमेतका विभिन्न तथ्य तथा दृष्टान्तहरू प्रस्तुत गर्नुभएको थियो ।

समारोहमा ओमप्रसाद कोइराला, मुक्तिनाथ आचार्य, लक्ष्मण तिमिल्सिना, ब्रह्‌मप्रिय प्रेमस्वरूप, डा.मनोज जोशी, पोषरमण चापागाईँ, महेशराज खरेल, कृष्ण बाउसे, नन्दु उप्रेती, दिल पौडेल, प्रशान्त खरेल, नर्मदेश्वरी सत्याल, यदुनाथ वसन्तपुरे, देबु लुइटेल, डा.गोविन्दप्रसाद आचार्य, प्रिन्स प्रमोद, दिनेशराज खरेल, विन्दु अधिकारी ढकाल र गोपालकुमार मैनालीलगायतले आआफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो । वाचित रचनामाथि विनोद मन्जनले समीक्षा गर्नुभएको थियो ।

सभाध्यक्ष राम विनयले हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आवाज उठाउने वा बहसको थालनी गर्ने कार्य गरिरहेका छौँ, भन्नुहुँदै समारोहमा उपस्थित भइदिनुहुने प्रमुख अतिथि, अतिथिलगायत सबै सबैलाई हार्दिक धन्यवाद दिँदै समारोह समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: