काठमाडौं, २०८३ वैशाख १२ गते शनिबार । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले एकदशकभन्दा लामो समयदेखि निरन्तर आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०८ औँ विशेष शृङ्खलामा प्रगतिवादी स्रष्टा प्रा.डा.सावित्री श्रेष्ठका एक दर्जन कविता सुनियो र परिचर्चा गरियो ।
समालोचक, प्रा.डा.विदुर चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो । सङ्घका महासचिव डा.कृष्ण सुवेदीले उक्त समारोह सञ्चालन गर्नुभएको थियो । अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुहुँदै अहिलेको समयकी कुशल सर्जक आजकी स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ, भन्नुभयो ।
साहित्यकार राजन न्यौपानेले कविनायक प्रा.डा.सावित्री श्रेष्ठको परिचय दिनुहुँदै डा.श्रेष्ठका तीनओटा कथासङ्ग्रह, दुइटा उपन्यास, पाँचओटा कवितासङ्ग्रहलगायत करिब डेढ दर्जन कृति प्रकाशित रहेका छन् भन्नेसमेतको जानकारी दिनुभयो ।
कविनायक प्रा.डा.सावित्री श्रेष्ठले कविताका रचनागर्भका बारेमा जानकारी गराउँदै ‘मेरी आमाका पीडाहरू’, ‘बाघको मुखमा छु हजुर’, ‘त्यो घरको याद’, ‘हो, मलार्ई मध्यरातमा डर लाग्छ’ र अन्तद्र्वद्व शीर्षकका सुन्दर र सशक्त गद्यकविता वाचन गर्नुभयो ।
त्यसैगरी सहयोगी कवि कविराज योगराज राजनले ‘यथार्थको आँसु’, कवि गीता अर्यालले ‘भानुभक्त’ र ‘बगर हो कि मान्छे !’, कवि स्वर्णिमा श्रेष्ठले ‘लज्जा’ र ‘आँसुका पहाडहरू’, कवि राजन न्यौपानेले ‘किन चाहियो राजा ?’ र कवि शान्ति पौडेलले ‘बिर्सिदिँदा के फरक पर्ला र ?’ शीर्षकका सुन्दर र सशक्त कविताहरू वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै प्रमुख अतिथि एवम् समालोचक प्रा.डा.विदुर चालिसेले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।
समारोहमा उपस्थित हुनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू र सहभागी सबैलाई सङ्घका उपाध्यक्ष रमेश पोखरेलले धन्यवाद दिनुहुँदै आउँदो १०९ औँ ‘अविरल जनसाहित्य यात्रा’मा कवि चेवन बस्नेतलाई प्रस्तुत गर्ने छौँ, भन्नुहुँदै अध्यक्षको अनुमतिले कार्यक्रमको समापन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: