विद्द्यार्थीसँग साहित्यकार : विमर्श र साक्षात्कार
आफूले जानेको कुरालाई समाज र पाठकसामु पुर्याउने कलात्मक माध्यम साहित्य हो
सीता भट्टराई
कामनपा–६, बौद्ध, रामहिटी
कवि सीता भट्टराईको जन्म २०२७ सालमा कैलालीको धनगढीमा भएको हो । हाल उहाँ काठमाडौंको बौद्ध, रामहिटीमा बस्दै आउनुभएको छ । भट्टराईले त्रि.वि.वि.बाट नेपाली विषयमा स्नातकोत्तर र दर्शनाचार्य गर्नुभएको छ । उहाँ संस्थागत विद्यालय लुम्बिनी एकेडेमीको शैक्षिक निर्देशक र ज्ञानदीप शिक्षा सदन विद्यालयको प्राचार्य, प्रोग्रेसिभ एजुकेसनल फोरमको अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ ।
सीता भट्टराई कवि, लेखक हुनुहुन्छ । उहाँको मनपर्ने विधा कविता, कथा र उपन्यास हो । ‘भद्र घले सेवा र साधना’ (सोधपरक समालोचना–२०४७) बाट कृति प्रकाशन गर्न थाल्नुभएकी भट्टराईले ‘धराकर्षण’ (महाकाव्य–२०७९) सम्म आइपुग्दा एकदर्जन पुस्तक प्रकाशित गरिसक्नुभएको छ । विभिन्न पत्रपत्रिका र मिडियाहरूमा लेख, रचना र अन्तर्वार्ताहरू प्रकाशित भइरहेका छन् । साहित्य र समाज सेवा गरेबापत कवि सीता भट्टराई डेढ दर्जन बढी संघसंस्थाबाट सम्मानित तथा पुरस्कृत हुनुभएको छ । एउटा असल शिक्षकको रूपमा काम गर्दै आउनुभएकी भट्टराई दर्जनौँ शैक्षिक तथा साहित्यिक संघसंस्थामा आबद्ध पनि हुनुहुन्छ ।
यिनै कवि तथा गीतकार भट्टराईसँग काठमाडौं युरो आईबी वर्ल्ड स्कुल, गोँगबुँ, बानियाँटार, काठमाडौंका भाइबहिनीहरू रुविना धिताल (कक्षा : ५), प्राश्ना घले (कक्षा : ९) र सुमिनेशानन्द पाण्डे (कक्षा : १०) ले शिक्षा, साहित्य, कला र सङ्गीतका विविध विषयमा गरेका कुराकानीका प्रमुख अंशहरू सङ्क्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।
१. अहिले के गर्दै हुनुहुन्छ ? अबका नयाँ योजनाहरू के छन् ?
उत्तर : अहिले म आौपचारिक रूपमा शिक्षाक्षेत्रको प्रशासनिक क्षेत्रमा आबद्ध छु । संस्थागत विद्यालय लुम्बिनी एकेडेमीको शैक्षिक निर्देशक र ज्ञानदीप शिक्षा सदन विद्यालयको प्राचार्य, प्रोग्रेसिभ एजुकेसनल फोरमको अध्यक्षका रूपमा कार्य गरिरहेकी छु भने अनौपचारिक रूपमा साहित्य लेखन र पठनमा रमाइरहेको छु ।
अबका नयाँ योजना खासै केही छैन । शैक्षिक र साहित्य क्षेत्रमा नै सकेको कार्य गर्दै जाने छ ।
२. हजुर त स्कुलमा पढाउनुहुन्छ है ? अध्यापन र लेखन सँगै चलेको छ ?
उत्तर : यो त सँगै नै हुनुपर्छ । जुन क्षेत्रमा लागिएको छ त्यस क्षेत्रमा नै रमाउनु पर्छ नि !
३. सरलमा भन्नुपर्दा साहित्य के हो ?
उत्तर : सरल रूपमा भन्नुभर्दा साहित्य भनेको जीवन र जगतलाई बुझ्ने र बुझाउने एक किसिमको कलात्मक माध्याम हो ।
४. हजुरले कहिलेदेखि साहित्य लेखन सुरु गर्नुभयो ?
उत्तर : मैले अनौपचारिक रूपमा वि.सं.२०४३/४४ र औपचारिक रूपमा वि.सं.२०४८ देखि साहित्य लेखन सुरु गरेको हुँ ।
५. हजुरलाई साहित्यमा लाग्ने प्रेरणा कसरी कोबाट प्राप्त भयो ?
उत्तर : अग्रज साहित्यकार, समाजका सकारात्मक र नकारात्मक अवस्था र तदअनुरूपका व्यक्तिबाट प्रेरणा प्राप्त भयो ।
६. साहित्य सिर्जना गर्ने उपयुक्त समय र अवस्था कुन हो ?
उत्तर : आफू खाली भएको अनि कल्पना, भावना र यथार्थले आफूभित्र मूर्तरूप जमाएको बेला उपयुक्त हुनेगर्छ ।
७. साहित्य सिर्जनाका स्रोत वा विषयहरू कसरी छान्ने ?
उत्तर : आफूले मनपराएका पुस्तक अध्ययन गर्दा प्राप्त ऊर्जा, प्रेरणा अनि आफूलाई र समाजलाई आवश्यकता परेका घटना, अवस्था र विषयलाई छान्ने गर्नुपर्छ ।
८. हजुरका कृतिहरू कति प्रकाशित छन् ?
उत्तर : मेरा निम्नलिखित कृतिहरू प्रकाशित छन् : भद्र घले सेवा र साधना (शोधपरक समालोचना–२०५४), कला र भावको सङ्मम (छन्द कविता सङ्ग्रह–२०६४), चिन्तनसँगको यात्रा (गद्य कवितासङ्ग्रह–२०६४), रहस्य (उपन्यास–२०६४), को हो आफ्नो ? (गीति एल्वम–२०६४), फूलका साथी हामी (बाल कवितासङ्ग्रह–२०६४), मुक्तिनाथ बाबा (महाकाव्य–३०७१), सहस्राक्ष (छन्द कवितासड्ग्रह–२०७५), मैले पढेका कथा (कथासड्ग्रह–२०७५), शिवगोपाल रिसालका महाकाव्यमा वेदान्त–दर्शन (२०७७), रामप्रसाद ज्ञवालीका कविता–काव्यमा वर्गद्वन्द्व र समानता (२०७७), धराकर्षण (महाकाव्य–२०७९) र विभिन्न पत्रपत्रिका र मिडियामा लेख, रचना र अन्तर्वाताहरू ।
९. हजुर त शास्त्रीय छन्दमा पनि कविताहरू लेख्नुहुन्छ है ?
उत्तर : हो नि ! लेख्ने गर्छु ।
१०. छन्दबद्ध वा मुक्त छन्द कुन विधानमा कविता लेख्न सजिलो हुन्छ जस्तो लाग्छ ?
उत्तर : दुवै उस्तै लाग्छ । तर छन्दमा बढी लेख्ने बानी परेको छ ।
११. मानिसहरू किन साहित्यप्रति प्रेरित हुन्छन् ?
उत्तर : मानिसहरू अरू कुरामा पनि प्रेरित हुन्छन् । हामी आफू साहित्यकार भएकाले साहित्यमा प्रेरित भएको देख्छौँ । यो एउटा साधकहरूले आफू र आफूले जानेको कुरालाई समाज र पाठकसामु पुर्याउने कलात्मक माध्यम भएर हो ।
१२. आफूले लेखे अनुसार लेखकहरूले व्यवहारमा किन त्यो कुरा लागु गर्दैनन् ?
उत्तर : सच्चा साहित्यकारको कमी अनि स्वार्थ, लोभ, परिस्थिति र बाध्यताका कारण लेखेअनुसार लेखकहरू व्यवहारमा देखिँदैनन् ।
१३. अध्यापन, प्राध्यापन गर्ने बढी व्यक्तिहरू साहित्यमा लाग्नुपर्ने कारण के हो ?
उत्तर : अध्यापन र प्राध्यापन गर्ने व्यक्तिहरूलाई आफूले विषयगतरूपमा बुझ्न र अरूलाई बुझाउन साहित्यमा लाग्दा सहज हुने हुनाले हो ।
१४. समग्ररूपमा व्यक्ति, समाजलाई साहित्यले खास दिने कुरा के हो ?
उत्तर : खास दिने भनेको मानिसलाई ज्ञान, चेतना, विवेक र न्यायका लागि गतिशील, ऊर्जाशील, कर्मशील हुने प्रेरणा नै हो ।
१५. हाम्रो समाजको ठूलो हिस्सा आज किन साहित्यप्रति त्यति रुचि राख्दैनन् ?
उत्तर : आजको युग प्रविधिमूलक बनेको छ । प्रविधि र विज्ञानको युग भएका कारण विविध क्षेत्रको विकास भैसकेको छ । ती र त्यस्ता वस्तुहरू साहित्यभन्दा निकै अग्रगतिमा मानवका इच्छा, आकांक्षा आवश्यकता पूर्ति गर्ने स्रोत र साधन बनीसकेका हुनाले हो ।
१६. नेपाली साहित्यका कृतिहरू गुणात्मकभन्दा सङ्ख्यात्मक बढी छापिन्छन् भनिन्छ, के त्यस्तै हो ?
उत्तर : यहाँहरूले सोध्नुभएको कुरा सत्य हो । अभ्यास हुँदै जाँदा अनि विषयवस्तुगत ज्ञानको अभाव अनि सस्तो लोकप्रियताका कारण यस्तो भएको हो ।
१७. आज हाम्रो समाजले कस्तो साहित्य खोजेको छ ?
उत्तर : आज हाम्रो समाजले समाजलाई गतिदिने प्रगति र उनन्तितर्फ लैजाने, ऊर्जाशील अनि आकर्षणयुक्त साहित्य खोजेको छ ।
१८. असल साहित्यकार बन्न अभ्यास र प्रतिभामा कुनको बढी भूमिका रहन्छ ?
उत्तर : असल साहित्यकार बन्न अभ्यास र प्रतिभा दुवैको आवश्यकाता पर्दछ ।
१९. साहित्यको अध्ययन र लेखनले विद्यार्थीहरूको पढाइ, लेखाइमा के सहयोग पुर्याउँछ ?
उत्तर : साहित्यको अधयन र लेखनले सीपमूलक सिर्जनशीलताको विकासमा सहयोग पुर्याउछ ।
२०. सामाजिक सञ्जाल र डिजिटल मिडियाले आज हाम्रो साहित्यमा के कस्तो महत्व राखेको छ ?
उत्तर : यी कुरा जान्नेका लागि समय र सामग्रीको सहज व्यवस्थापन हुने हुँदा बढी महत्व बन्दै गएको छ ।
२१. सामाजिक सञ्जाल र डिजिटल मिडियाको कारण बालबालिकाहरूमा किताब पढ्ने बानी घट्दै गएको हो ?
उत्तर : अवश्य हो । अहिले विद्यार्थी पुस्तकभन्दा बढी यसैतर्फ आकर्षित भैसकेका छन् ।
२२. अन्त्यमा, हामीले सोध्न नसकेका र हजुरलाई भन्न मन लागेका केही कुराहरू छन् कि ?
उत्तर : छैन । यहाँका प्रश्नहरूमा नै सबै कुरा समेटिएका छन् ।

प्रस्तुति
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल,
गोँगबुँ, बानियाँटार, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: