कवि ढुङ्गेलको “मृत्यु-उत्सव” कविताकृति लोकार्पण

२८ बैशाख २०८३

२०८३ वैशाख २६, काठमाडौं। कवि शेखर ढुङ्गेलको कविताकृति ‘मृत्यु-उत्सव’को एक विशेष कार्यक्रमकाबीच लोकार्पण भएको छ। साहित्यिक पत्रकार संघको आयोजनामा अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको कार्यक्रममा उपस्थित सबै साहित्य प्रेमीहरू प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा रहेका थिए। मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा कृतिको लोकार्पण गरिएको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले लोकार्पित कृतिका बारेमा संक्षेपमा प्रकाश पार्दै समीक्षात्मक टिप्पणी पेश गरेका थिए। टिप्पणीका क्रममा उनलेे मृत्युलाई उत्सवका रूपमा देख्नु भनेको आध्यात्मिक कुरा भएको बताए। ढुङ्गेलका कविताहरूमा स्वदेश मोह, देश प्रेम, देशमा भएका बेथितिहरू, भ्रष्टाचारका कुराहरू र जीवन दर्शनसँग सम्बन्धित व्यङ्ग्य चेतना रहेको बताए। कविताकृतिभित्र ८३ वटा कविताहरू रहेको बताउँदै उनलेे नेपाल देश बाहिर पनि अर्को नेपाल रहेको र बाहिरको नेपालमा बसेर साहित्यको सृजना गर्नु पनि एउटा ठूलो उपलब्धि भएको बताए।

कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आफ्नो स्वागत मन्तव्यमा ५३ वर्ष पूरा गरी ५४ औँ वर्षमा प्रवेश गरेको साहित्यिक पत्रकार संघको विगत कोट्याउँदै नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताको उन्नयनमा पुर्‍याउँदै आएको योगदानको चर्चा गरेका थिए। मुलुक हाल परिवर्तनको संघारमा रहेको र देश समृद्धिको बाटोमा रहेको बताए।

कार्यक्रममा लेखकीय मन्तव्य राख्दै कवि शेखर ढुङ्गेलले के लेखेँ के लेखेँ जस्तो लागेको थियोे तीनजना स्रष्टाहरूले मेरो कविता वाचन गरेर सुनाएपछि र समालोचक प्रधानले मेरो कविताका बारेमा बोलेपछि भने केही लेखेको रहेछु भन्ने महसुस भएको बताए। कृतिका बारेमा बोल्दै उनलेे मृत्युदेखि डर हटाइदियो भने मृत्यु उत्सव हुन्छ जस्तो लाग्छ। भूतलाई छाडिदिने र वर्तमानमा जिउने हो र मृत्युको डर हट्यो भने नकारात्मक सोच हराएर नयाँ उर्जा आउने कुरा बताए।

लोकार्पित कृतिभित्रबाट कविहरू सुमन थापा, गीता कार्की र मणि लोहनीले कविता वाचन गरेर सुनाएका थिए।

कार्यक्रममा प्रा.डा.सुरेन्द्र केसी, मदनदास श्रेष्ठ तथा देव प्रकाश त्रिपाठीले शुभकामना मन्तव्य राख्दै कवि ढुङ्गेललाई सुन्दर कृतिका लागि बधाई दिएका थिए।

कार्यक्रममा कवि ढुङ्गेललाई साहित्यिक पत्रकार संघको तर्फबाट सम्मान गरिएको थियोे भने कवि ढुङ्गेलका तर्फबाट पुस्तकको सुन्दर आवरण बनाउने कलाकार कवि नरेन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियोे।

कार्यक्रममा संघकी कोषाध्यक्ष कवि पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन् भने गीतकार तथा कलाकार नरहरि प्रेमीले कार्यक्रमको सञ्चालन गरेका थिए। कार्यक्रम सञ्चालनका क्रममा उनले कृतिभित्रका केही कविताहरू गाएका थिए।

प्रतिक्रिया दिनुहोस्: