काठमाडौं, २०८३ असार १५ गते । साहित्यिक पत्रकार संघको आयोजनामा राष्ट्रिय धान दिवस एवम् दही चिउरा खाने दिनको अवसर पारेर शुभकामना आदानप्रदान गरिएको खबर छ।
‘जलवायुमैत्री प्रविधि: धानमा आत्मनिर्भरता र समृद्धि’ को नारा लेखिएको ब्यानरमा सम्पन्न कार्यक्रम औपचारिकता तथा अनौपचारिक दुवै रहेको थियो। कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न गरिएको थिए।
कार्यक्रममा नेपालमा उज्यालो ल्याउनमा विशेष योगदान पुर्याएका उर्जा क्षेत्रमा संलग्न व्यवसायी तथा समाजसेवी राजुप्रसाद चौलागाईलाई कलाकार मदनदास श्रेष्ठले एस.एस.फाउन्डेसन र साहित्यिक पत्रकार संघको तर्फबाट सम्मानपत्र प्रदान गरेका थिए।

कलाकार मदनदास श्रेष्ठले राष्ट्रिय धान दिवसको महत्त्वमाथि प्रकाश पारेका थिए। पहिले नेपालले विदेशमा धान निर्यात गर्थ्यो भने हाल आयात गर्नुपर्नुमा राजनीतिको खेल भएको उनलेे बताए।
राजुप्रसाद चौलागाईंले आफूलाई सम्मानित गरेकोमा खुशी प्रकट गर्दै एस.एस.फाउन्डेसन र समाजसेवी सोभित उप्रेती तथा साहित्यिक पत्रकार संघप्रति आभार प्रकट गरेका थिए।
कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै सापसका अध्यक्ष राधेश्याम लेकालीले कुनै बेला धान निर्यात गर्ने हाम्रो देश आज आयातमा भर परेकोमा दु:ख व्यक्त गरेका थिए। गत वर्ष गोकर्णमा किसानकै खेतमा साहित्यकारहरू रोपाइँ गर्न गएको स्मरण गर्दै यस पटक प्रतिकूल मौसमका कारण धान रोप्न नगई धान दिवस मनाउनु परेको कुरा बताए । धान दिवसका दिन–दही चिउरा खाने चलनको प्रसङ्गमा उहाँलेे नेपाली संस्कृतिमा दहीको ठूलो महत्त्व रहेको बताए ।
कार्यक्रममा कवि नरेन्द्रबहादुर श्रेष्ठले कविता वाचन र रितु कंडेलले असारे गीत गाएकी थिइन्उ।
कार्यक्रमको सञ्चालन चर्चित गायक नरहरि प्रेमीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्: