कथा
फेरिएको तस्बिर
नयाँ बसपार्क !
नयाँ बसपार्क !
भन्दै गाडीको सहचालक भाइ कराएपछि मेरो निद्रा खुल्यो ।
राजधानीको व्यस्त शहर नयाँ बसपार्क काठमाडौं । कयौँ मानिसहरू बिहानीको मधुर घामजस्तै सुन्दर सपना बोकेर यहाँ भित्रिने गर्छन् । कयौँ मानिस सपना मारेर काठमाडौंबाट बाहिरिन्छन् ।
कयौँ भेटिन्छन् हातमा नाम्लो बोकेर कामको खोजिमा काम कुरिरहेकाहरू ।
यतै भेटिन्छन् घर छोडेर हतारिँदै विमानस्थालतिर दौडिरहेका युवाहरू ।
नाका नाकाबाट जनलहर उर्लिएपछि काठमाडौं कुर्लिन्छ । शासकको कुर्सी हल्लिन्छ । सत्ता फेरिन्छ । शासक फेरिन्छन्। यो नयाँ बसपार्कमा पुरानै व्यथा लिएर आउने नयाँ अनुहारहरू फेरिरहन्छन् ।
बिदाको दिन, घरमा छु यतिबेला । झ्यालबाट देख्छु बाटोमा चम्पा र चमेली आउँदै गरेका, बिहानको व्यापार सकेर । थर्मसभरि चिया बोकेर ३ बजेनै उनीहरू बसपार्क पुग्छन् । ६ बजे चिया बेचेर फर्किन्छन् । यिनको आफ्नै दैनिकी छ । आफ्नै कथा छ ।
चम्पाको बुढो जन आन्दोलनमा घाइते भएर भाँचिएको करंङ्ग र खुस्किएको घुँडो बोकेर बैशाखीमा रूपान्तरित भएको छ । दुइटा छोरा छोरी र अपाङ्ग लोग्नेको जिम्मेवारी चम्पाले उठाएकी छे, बिहान बसपार्कमा चिया बेचेर ।
दिउँसो अर्काको घरमा घरको काम सघाएर खर्चवर्चको कसरी व्यवस्थापन गरेकी होली उसले ? कहिले कसो गाह्रो अप्ठ्यारोमा मलाई पनि काम सघाउछे चम्फा । त्यसवापत मैले उसको कोठाको भाडा मिनाहा गरिदिएको छु ।
अर्को पात्र छ चमेली । सोह्र सत्र वर्षकी । गाउँमा पढ्दै गर्दा अन्तरजातीय केटासँग प्रेम बसेको र विवाहअघि आएको गर्भले बिछिप्त बनेर रमेशसँग गाउँ छोडेर काठमाडौं भागेकी । जातको कारणले कतै कोठा नपाएपछि मेरो घरममा आएका थिए उनीहरू ।
रगत सबैको रातो । मान्छेको दुःखमा मान्छे काम नलागे अरू को काम लाग्छ ! यस्तै सोचेर कोठा दिएको मैले ।
रमेश विष्णुमतिमा बालुवा झिक्ने काम गर्दो रहेछ । दिउँसो अनि राति पनि ऊ खोलातिरै काममा व्यस्त हुन्थ्यो । कहिलेकाहीँ पुलिसले समातेर लान्थ्यो अनि ठेगदारले पुलिससँग के के कुरा मिलाएर छुटेपछि ऊ घर फर्किन्थ्यो । यिनीहरूले महिनामा कति कमाउँदा होलान् ? उनीहरूलाई देखेपछि यस्तै प्रश्नहरू मनमा खेलिरहन्छन् ।
आफ्नो गाँस कटाएर जम्मा पारेको रकम मलाई राख्न दिन्छन् उनीहरू । मैले त्यो पैसा चमेलीको नाममा सहकारीमा जम्मा गरिदिएकी छु । एक किसिमको गहिरो माया छ त्यो परिवारसँग । भावनाको नाता पनि यति गहिराईसम्म पुग्दो रहेछ, चुडिँदा दुख्ने, भेटिँदा मन झुसी झुसी हुने । घरबेटी र भाडावालाको यो सम्बन्ध ।
कोठा अगाडिको बरण्डामा प्रायः जस्तो परेवाहरू चर्न आइपुग्छन् । आज पनि एकहुल परेवाहरू बरण्डाभरि छरिए अनि चारो टिपेर उडी गए । बाहिर जाडो अचम्मैसित बडेको छ यो वर्ष । हुस्सु डम्म लागेको छ । जाडोमा पटक्कै उठ्न मन छैन। सिरकभित्र घुर्सिएको छु । त्यही बेला इशाले फोन गरी अमेरिकाबाट सिरकभित्र बसेरै फोन उठाएँ ।
उसलाई मेरो जन्मदिनको हेक्का छ । त्यसैले बिहानै फोन गरेर शुभकामना दिएकि उसले । मेरो जन्मदिन आज । ‘मेरी बहिनी तँलाई कस्तो छ ?’
अनायासै फुस्कियो मेरो मुखबाट । मेरो रून्चे स्वर सुन्ने बितिकै ऊ पनि फोनमा रोई । ऊ रोएपछि म समालिदै आँसु पुछेँ र उसलाई सम्झाएँ । हामी दिदी बहिनी धेरैबेर फोनमा रोयौँ । गला अवरुद्ध भएपछि उसैले उताबाट फोन काटी ।
आज साह्रै आमाको सम्झना आयो । कोठाको भित्रामा टाँगिएको आमाको तस्वीरमा आँखा पुगे । जन्मदिनको दिन आमाले मन्दिरमा लगेको । मिठाई किनिदिएको अनि साथीहरूलाई स्कुलमा चक्लेट बाँडेको । आमाले किनिदिएको नयाँ मिडी लाएर फुरूङ्ग हुँदै नाचेको सम्झना हुलका हुल आयो मन बिथोल्ने गरी । मन भारी भएर दुख्यो, आमा सम्झिएर ।
‘यही शरद् ऋतु हो, तिमी जन्मिएकि । बारीभरि सयपत्री मखमली फुलेको थियो । फूलको मौसममा फूलजस्तै सुन्दर छोरी जन्मिएकोमा म साह्रै खुशी भएको थिएँ । तिम्रो बा पनि खुशीले दङ्ग हुनुहुन्थ्यो । हामी त खुशी थियौँ नै तर घरमा तिम्रा हजुरबा, आमा भने खुशी हुनुभएन । उहाँहरूलाई छोरी होइन छोरा चाहिएको थियो । उहाँहरू खुशी नभए पनि हामी त खुशी थियौँ । छोरा भन्दा कुनै कुरामा कमी हुनुहुँदैन मेरी छोरी !’ भनेर मलाई फुर्क्याउनु हुन्थ्यो आमाले ।
आमाको सम्झनामा म बतासिँदै बतासिँदै धेरै पर पुगेँ । बीस वर्षपहिले आमा बितेका ती घटनाहरू आँखाभरि आए । आमा बित्दा म भर्खर सत्र वर्षको थिएँ । बहिनी मात्र दश वर्षकी । यही शरद् ऋतु हो आमा बितेको पनि ।
दशैँको बेला सबैको घरमा रमाइलो थियो । खुशीयाली थियो । घर आँगनभरि सयपत्री ढकमक्क फुलेको थियो । त्यही बेला दैवको लाठो हामीमाथि बर्सियो । फूलपातीको दिन घरमा फूलपाती भित्र्याउने तयारी हुँदाहुँदै आमा एक्कासी लड्नुभयो र बेहोस हुनुभयो । हामी दिदीबहिनी आमालाई समातेर रोयौँ करायौँ । बाबा घरमा हुनुहुँदैनथ्यो । बहिनीले काकालाई बोलाई । उहाँ ढिलागरी आउनुभयो । मान्छे बोलाउँदा बोलाउँदै आमाले प्राण छाडिसक्नुभएछ घरमै । हस्पिटल पुर्याउँदा उहाँको शरीर लास बनी सकेको कुरा डाक्टरले सुनाए ।
यदि छिटो हस्पिटल पुर्याउँन सकेको भए, आमा बाँच्नुहुन्थ्यो कि भन्ने कुरा मनमा आज पनि खड्किरह्यो ।
आमाविनाको मेरो जन्मदिनको कुनै महत्व छैन ।
म जाँतो जस्तै बोझिलो बनेर हरेक साल आफ्नो उमेर पिनिरहेको हुन्छु, फगत फगत ।
हजुर बाको पालामा ढुङ्गा माटोले बनेको कच्ची घर । देख्दा आकर्षित थियो । त्यो हाम्रो पुर्खौली घर । ठूलो आँगन । आँगनको डिलभरि विभिन्न थरिका फूलका बोटहरू । घरअगाडि सानो फलफूलको बगैँचा । पूर्वको पारिलो घाम लाग्ने पूर्व मोडामा फर्किएको त्यो घरपछि अंशबण्डा हुदाँ बाको भागमा परेको थियो ।
आमाको मुत्युपछि त्यो प्रिय घरमा बस्न पटक्कै मन लागेन । त्यहाँका हरेक वस्तुमा आमाको अनुहार आउने गर्थ्यो । आमाले सारेका धुपीका बोटहरू, गुलाफका बोटहरू, चमेलीका फूलहरू फुल्दा आमाको यादमा फूलका बोटहरू समातेर रून्थ्यौँ हामी ।
एकदिन आमाले भन्नुभाको थियो, चराहरूलाई आँगनमा चारो छरिदिदै; ‘हेर मनिषा ! म मरे भने चरा बन्छु । मलाई चराहरू मन पर्छ ।’
आँगन नजिकैको रूखमा बसेर चराहरू कराउँदा आमा आएर हाम्रो हालखबर सोधेझैँ लाग्थ्यो ।
यो हाम्रो पागलपन थियो । हरेक चिजमा आमाको संम्झना । आमाले प्रयोग गर्ने सामान । आमाले सुत्ने कोठामा आमाको कपडा जस्ताको तस्तै थियो ।
आमाले दिनदिनै ओैषधी प्रयोग गर्नुहुन्थ्यो तर उहाँलाई के भएको हो थाहा थिएन । पछि बाबाले भन्दा थाहा भयो, उहाँ मुटु रोगी हुनुहुँदो रहेछ । यी सबैकुरा हामीलाई किन लुकाउनु भयो आमाले ?
आमालाई मृत्युको पूर्वआभास भयो कि क्या हो । एकदिन उहाँ मेरो कोठामा पस्नुभयो । त्यसदिन उहाँलाई अलि उदास देखेँ मैले र सोधेको थिएँ ।
‘आमा ! हजुरलाई के भयो ? टाउको दुख्यो हो ? म टाउकोमा मालिस गरिदिउँ ?’
उहाँले अलि रिसाएझैँ भन्नुभयो; ‘पर्दैन…, पर्दैन भो …! मेरो के को चिन्ता तिमीहरूलाई ?’
त्यसदिन मलाई अचम्म लाग्यो । कहिले नरिसाउने मेरी आमा । त्यो दिन किन रिसाउनु भयो ? सोचेँ… बाबासँग झगडा परेर पो हो कि ? यस्तै ठानेर म चुप बसेँ । एकछिनपछि आमाले मौनता भङ्ग गर्दै भन्नुभयो; ‘मनिषा ! राम्रोसँग पढ्नू । बहिनीलाई पनि पढाउनू । झगडा कहिले नगर्नू । घरको जेठी छोरी तिमी । तिम्ले सबै व्यवहार मिलाउनु पर्छ बुझ्यौ । बहिनी अलि भनेको मान्दिन सम्झाउनू । मेरो दराजमा गहनाहरू छन्, दिदी र बहिनीले बाँडेर लिनू ।’
किन त्यसो भन्नुभयो आमाले मैले संम्झनै सकिन त्यो पल ।
गएका दिनेहरूले जीवनलाई बोझिलो र रापिलो पारेर गएका छन्, धेरै दुखाएका छन् ।
धुपीको बोटमा बिहानै चरा आएर कराउँदा आमा आएर बोले जस्तो लाग्ने र हर चिजमा आमाको छायाँ देख्नथालेपछि आमाको याद भुलाउन हामीले त्यो घर बेचेर हिड्यौँ ।
त्यो घर बेचेको रकमले पछि इशालाई डाक्ट पढाउनमा काम लाग्यो । आज इशा अमेरिकामा डाक्टर भएर उतै काम गर्छे । डाक्टरसँगै विवाह गरेकी छ । सुखी छे । खुशी छे । म आज इशालाई बेस्सरी सम्म्झिराको छु ।
नागर्जुन डाँडामाथि घाँम अस्ताउने सुरसार गर्दै थियो समय गएको पनि मलाई पत्तो भएन । फेरि इशाले फोन गरी अमेरिकाबाट ।
‘दिदी ! तपाईंको लागि हामीले राम्रो मान्छे खोजेका छौँ । बिहे गर्नुस् ।’
इशाको कुरा नसकिँदै त्यही मोबायलबाट ज्वाइँ बोल्नुभयो;
‘दिज्यू ! कसैलाई कसैको वास्ता नहुने । कसैले कसैलाई नचिन्ने साँघुरो गल्ली र गल्छेडा हुदै कहिले भिडमा कहिले एक्लै ठोकिँदै हिड्नुभयो । यो पचासौँ वर्षमा उक्लिँदै गर्दा एउटा उपहार दिदैँ छौँ । नाइँ नभन्नूस् है !’
कोठामा छु । ऐना अगाडि ढिङ्ग उभिन मन लाग्छ । र, आफैसँग प्रश्न गर्छु;
‘यो उमेरमा कसले बिहे गर्छ मसँग……?’
ऐेना अगाडि आफ्ना सक्कली छायाँहरू देखा पर्छन् । केशहरू फुलेका, निधारमा प्रष्ट देखिएको चाउरीपना । मैले कहिले आफूलाई यसरी नियालेको थिइन् । आज आफ्नै प्रतिबिम्ब आफ्नो होइनझैँ लाग्न थाल्यो ।
यो उमेरसम्म आइपुग्दा कुनै दिन सोचे पनि हुँला । कसैको घर बसेको देखेर, कसैले माया बाँडेको देखेर मेरा पनि भइदिएका भए बा….., आमा । मेरो पनि घरजम हुने थियो । कोख भरिने थियो । रूने, हँसाउने आफ्ना हुने थिए ।
मनले सोध्यो समयलाई; लालुपाते लाल बनेर फुल्यो । बेली, चमेली फुले अनि झरे । फेरि फुले अनि फेरि पनि झरे । आँगनीको पारिजात रातभरि फुल्यो र उषासँगै झर्यो । यो मन कुन बेला फुल्यो अनि झर्यो थाहा नै भएन ।
म यथार्थको धरातलमा आज एक्लो थिएँ । इशाले एउटा फोटो पठाई म्यासेञ्जरमा । त्यो फोटोले मलाई झस्कायो । मैले फेसबुक आइडी सर्च गरेर हेरेँ । ऊ हरियो थोप्लोमा देखा पर्यो ।
मैले इशालाई म्यासेज गरेँ ।
‘तैले कसरी चिनिस् उसलाई इशा ?’
उसले सबै कुरा बताई फोनमा ।
ऊसँग मेरो छिमेकी दिदीको घरमा सत्यनारायणको पूजामा भेट भएको थियो । उनै दिदीको भाइ रहेछ ऊ । भलाद्मी थियो । उसका तार्किक कुराहरू मन पर्थ्यो मलाई । मीठो बोल्ने कला । सहयोगी बानी, उसलाई चिनाउने सुगन्धहरू थिए ।
हामी नजिक भयौँ । मेरो जीवनको अप्ठ्यारा दिनहरूमा कहिले अभिभावक बनेर कहिले साथी बनेर मलाई साथ दिएको थियो उसले । एकदिन उसले बिहे गरेर अमेरिका जाने कुरा गर्यो । मैले उसको प्रस्ताव इन्कार गरेँ । मनभरि उसलाई राखेर ऊबाट म टाढा भएँ ।
धेरै वर्षपछि छिमेकी दिदीसँग भेट हुँदा छिमेकी दिदीले भन्नुभाको थियो;
‘मनिषा ! तिमीलाई मेरो भाइले धेरै माया गर्दो रहेछ । सधैं सोधिरहन्छ । हालखबर बुझिरहन्छ । तक्दिरमा नहुनेहरू मनमा बस्दा रहेछन् हगि !’
मनमा गाँठो परेर आयो । सकी नसकी बोलेँ;
‘खोई दिदी ! त्यो त म के जानौं ? अनि उसको चाहिँ के छ हालखबर ?’
‘खोई के कारण पर्यो ? एउटी खैरेनीसँग लिभिङ टुगेदरमा बसेको थियो । पछि उसले छोडेर गई । त्यसपछि हामीले धेरै कर गर्याँै । नेपाली केटीहरू हेर्याँै । उसले बिहे गर्न मानेन । अहिले अमेरिकाम छ ।’
मैले ए….! मात्र भने ।
त्यसपछि हामी छुटियौँ ।
बहिनीको भविष्य र जिम्मेवारी थियो मेरो काँधमा । मैले मेरो प्रेम त्यागे र बहिनीको भविष्य रोजेँ । त्यसपछि सम्पर्कविहीन बनेको ऊ । आज इशासँग कसरी भेटिन आइपुग्यो ?
एकदिन राति आकाशमा ताराहरू नियाल्दै गफिँदै थियौँ इशा र म । एउटा तारा आकाशबाट धर्तीमा झर्यो । उषा खुशी हुँदै कराई;
‘दिदी ! आकाशबाट तारा खस्दा जे माग्यो त्यही पाइन्छ रे ! हामी पनि केही मागाँैन ?’
त्यो बेला माग्ने धेरै कुराहरू थिए । आज आकाशबाट तारा खस्दा माग्ने कुनै कुरा छैन ।
समयको रफ्तारमा म धेरै पर पुगिसकेको छु । तैपनि आज मलाई उसको तस्वीरले किन यति धेरै खुशी दिएको छ ।
मेरी बहिनी ! हुन्छ….., हुन्न….., म के जवाफ दिऊँ ? तेरो सफलतामा खुशी भएर बाआमाको यादमा समाजसेवा गरेर बाँकी जीवन कटाउन चाहन्थेँ ।
तर आज मेरो मन किन यसरी फेरिएको छ ? उसको यादमा किन म गहिरिएको छु । आफैसँग मुस्कुराएको आफ्नो प्रतिबिम्ब हेरेर ऐनामा म किन लजाएको छु ।
पनौती, काभ्रे ।


प्रतिक्रिया दिनुहोस्: