२०८३ असार ३१, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले साहित्यकार कमला प्रसाईंका कृतिहरु ‘चितामाथिको लास’ (नाटकसङ्ग्रह), ‘सिमाना’ (कवितासङ्ग्रह) र ‘हृदयभित्र’ (गीतिसङ्ग्रह)को अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।
अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजना गरिएको सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी. ले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
साहित्यकार प्रसाईंलाई नेपाली साहित्य सिर्जनामा पुर्याउनु भएको योगदानको लागि च्याप्टरले सम्मानपत्रसहित सम्मान गरेको सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त थापा वित्यासी र अनेसास पुरस्कार समिति सदस्य सन्ध्या पहाडीले प्रसाईंका ‘हृदयभित्र’ (गीतिसङ्ग्रह) र ‘सिमाना’ (कवितासङ्ग्रह)को चर्चा गर्नुभएको थियो ।

यसैगरी अनेसासका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले शुभकामना मन्तव्य राख्दै प्रसाईंको योगदानको चर्चा गर्दै ‘चितामाथिको लास’ (नाटककृति)बारे चर्चा गर्नुभएको थियो ।
च्याप्टरका अध्यक्ष एवं अनेसासका नवनिर्वाचित केन्द्रीय सदस्य राजेन्द्र के. सी. को सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सुरेन्द्र के.सी., नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, निबन्धकार युवराज नयाँघरे, अध्यक्ष राजेन्द्र के.सी., साहित्यकारहरू कमला प्रसाईं, रामप्रसाद दाहाल लगायतले मन्तव्य राख्दै कृतिकार प्रसाईंको योगदानको चर्चा गर्दै बधाई ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा कविहरू गीता कार्की र गीता रेग्मीले प्रसाईंका कविताहरु वाचन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि र कृति चर्चाकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा चलचित्र नायक रविन्द्र खड्का, सर्जकहरु हरिबहादुर थापा, रमेश कोइराला, सविता ढुंगाना, भगवती बस्नेत, सविता श्रेष्ठ, देवेन्द्र देबु, हरि मानन्धर, राधिका गुरागाईंलगायतको विशेष उपस्थिति रहेको थियो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष मन्जिला अनिलले प्रसाईंलाई अर्पण गरिएको सम्मानपत्र वाचन गर्नु भएको सो कार्यक्रममा उपाध्यक्ष निर्मल पराजुलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव रन्जना निरौलाले गर्नुभएको थियो ।
कृतिकार प्रसाईंका तीनै कृति अनेसास नेपालले वि. स. २०७७ मा प्रकाशित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्: