सन्ध्यामा विविध विषयमा चर्चा र साथमा विशेष कविगोष्ठी

४ श्रावण २०८३

काठमाडौं, २०८३ साउन २ गते शनिबार । साहित्य सन्ध्याको नियमित मासिक ४७८ औँ विशेष शृङ्खलामा ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयमा विशद चर्चा गरिनुका साथै साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित ‘अष्टावक्र महागीतामृत’ कृतिको परिचर्चाका साथ कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् पूर्व गभर्नर तथा अर्थविद् दीपेन्द्रबहादुर क्षेत्री उपस्थित हुनुहुन्थ्यो । विशिष्ट अतिथिको रूपमा साहित्य सन्ध्याका सल्लाहकार प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’को उपस्थिति रहेको थियो । अतिथिहरूमा प्राज्ञ नर्मदेश्वरी सत्याल, साहित्यकार सुमी लोहनी, डा.कृष्ण सुवेदी, डा.रूपनारायण श्रेष्ठ, कृष्ण बाउसे, ओमप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष, पूर्व गभर्नर एवम् अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयमा विशद चर्चा गर्नुुहुँदै यथार्थमा जीवनसँग नजोडिएको साहित्य साहित्य हुनसक्तैन । इमानका साथ जीवन घोट्ने कुनै पनि व्यक्ति होस् वा रोजगारीका लागि पराया भूमिमा जीवन घोटिरहेका नेपालीहरू आयआर्जनकै लागि पसिना बगाइरहेका छन् । यद्यपि साहित्य चाहिँ पैसाकै लागि मात्र नभएर आत्मसनतुष्टिका लागि पनि लेखिन्छ, भन्नुभयो ।

साहित्यिक क्षेत्र पनि आर्थिक चपेटाबाट मुक्त हुने अवस्था देखिएको छैन । अशक्त साहित्यकार झमक घिमिरेलाई पूर्ववर्ती सरकारले बसोवासको लागि घर नै बनाइदिएर प्रोत्साहित गरेको दृष्टान्त अनुकरणीय छ । वर्तमान एआईजस्ता प्रविधिले साहित्यकारका कृतिको प्रचारप्रसारमा, बजारीकरणमा, समूहीकृत गर्ने कुरामा सहयोग गर्ने अवस्था चाहिँ रहेको छ र त्यसको सदुपयोग गरिनु आवश्यक छ भन्नेसमेतको धारणा राख्नुभयो ।

विशेष अतिथि प्रा.जगत्‌प्रसाद उपाध्याय ‘प्रेक्षित’ले साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित ‘अष्टावक्र महागीतामृत’ कृतिको परिचर्चा गर्नुहुँदै दर्शन वा दृष्टिकोणविना जीवन, समाज वा राज्य केही पनि चल्दैन । अष्टावक्र वैदिक वाङ्मयसँग सम्बन्धित पात्र हुन् । यो भूखण्डभित्र थुप्रै विद्वानहरूको जन्म भएको छ । सिन्धुघाटीको सभ्यताको काललगत्तै ऋग्वेदपछि यजुर्वेदको रचना भएको र जनकको समयकालमा शास्त्रीय बहस यथेष्ट भएको, यज्ञवल्क्यले सूर्यको प्रार्थना गरेर शुक्लयजुर्वेद लेखेका अनि यज्ञवल्क्यले दिएको आत्मज्ञान नै अष्टावक्र महागीतामृत हो । अहिले यसलाई भारतीय भनेर भ्रम फैलाइएको भए पनि अष्टावक्र विशुद्ध नेपाली हुन् । अष्टावक्र महागीतामृतलाई धेरै भाषामा अनुवादसमेत गरिएको छ । महाभारतमा कृष्णले बताएको गीताभन्दा अष्टावक्रगीता फरक छ । संस्कृतको त्यो भागवतलाई अनुवाद होइन अनुसिर्जन गरेर साहित्यकार सुमी लोहनीले यो अनुकरणीय कृति तयार पार्नुभएको छ, भन्नुभयो ।

अष्टावक्र महागतिामृत कृतिको अनुसिर्जन गर्ने साहित्यकार सुमी लोहनीले यो कृति धार्मिक ग्रन्थ होइन; यसले धर्म, जात, लिङ्ग, वर्ण आदि केहीका पक्षमा वकालत गर्दैन बरु यो कृति विशुद्ध आत्माका बारेमा लेखिएको र अहिलेको जीवनजगत्‌लाई भोग्ने हामी सबै सबैलाई यो कृति अत्यन्त उपयोगी रहेको छ । यसमा संस्कृतका जम्मा २९८ ओटा मात्र श्लोक रहेका छन् र ती श्लोकलाई दार्शनिक ओशोले व्यापक व्याख्या गरी छओटा ठुला ठेली तयार पार्नुभएको छ । यो कृतिमा भने सबै श्लोकलाई सरल नेपाली भाषामा आफूले अनुसिर्जन गर्ने प्रयत्न गरेकी हुँ । यसले भौतिक संसारको समग्र खुसी क्षणिक हुन्छ तर आत्मज्ञानले दिलाउने खुसीले नै जीवन स्थिर पार्ने र खुसी राख्ने काम गर्छ भन्ने सन्देश दिएको छ । यो कृति हाम्रो आफ्नै देशको र मौलिक कृति पनि हो, भन्नुभयो ।

समारोहमा ओमप्रसाद कोइराला, नर्मदेश्वरी सत्याल, गायत्रीकुमार चापागाईँ, डा.रूपनारयण श्रेष्ठ, महेशराज खरेल, राजन आचार्य, लक्ष्मण तिमल्सिना, चेवन बस्नेत, पोष चापागाईँ, कृष्ण बाउसे, शान्ता दाहाल, कृष्णप्रसाद पौडेल जस्ताघरे, कुमार नेपाल, डा.मनोज जोशी, माधव प्रधान, नवराज श्रेष्ठ, डा.गोविन्दप्रसाद आचार्य, जमुना आचार्य, शिवप्रसाद आचार्य, दिनेशराज खरेल, बैरागी जेठा, लीलाराज दाहाल, बलराम विष्ट, केदारनाथ आचार्य, एम.पी.पाण्डे र प्रमोद भण्डारीले आआफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: