२०८३, काठमाडौं, साउन ३ गते आइबार । पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले साहित्यकार एवम् अन्वेषक पूर्णप्रकाश नेपाल यात्रीको ९३ औँ जन्मजयन्तीको अवसरमा विभिन्न स्रष्टाहरूलाई यात्री वाङ्मय पुरस्कार तथा यात्री विद्यापदक समर्पण गरेको छ ।
यात्री अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्व र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्यसचिव डा.तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ अन्वेषक एवम् समालोचक प्रा.डा.चूडामणि बन्धुलाई यात्री वाङ्मय पुरस्कार–२०८३ एवम् रादिका चम्लागाईं र सङ्गीता गैरापिप्लीलाई यात्री विद्यापदक–२०८३ समर्पण गरिएको थियो । त्यस अवसरमा वासुदेव दाहालको जीवन कथाकृति ‘आफ्नै कथा व्यथा’ को लोकार्पण पनि गरिको थियो ।

कार्यक्रमका सभाध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालले यात्रीको शिक्षा, साहित्य, खोज–अन्वेषण र यात्राका विविध पाटाहरूको व्याख्या र विश्लेषणसहित यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले गरेका विभिन्न कामहरू र भावी योजनाका बारेमा प्रकाश पार्नुभएको थियो ।
प्रमुख अतिथि डा.तुलसी भट्टराईले यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले यात्रीका बारेमा विभिन्न कार्यक्रमहरू गरिरहेको भएतापनि यस केन्द्रले यात्रीका सिर्जनात्मक र अन्वेषणका पाटाहरूलाई अझ गहिराईसम्म गएर पाठकहरू समक्ष प्रकाशमा ल्याउनुपर्ने बताउनुभभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अन्वेषक एवम् समालोचक प्रा.डा.चूडामणि बन्धुले पूर्णप्रकाश नेपाल यात्री विभिन्न विषयका ज्ञाता र बहुमुखी प्रतिभाका धनी थिए, तत्कालीन अवस्थामा उनका खोज र अन्वेषण सबैखाले अनुसन्धाताहरूलाई उपयोगी र ज्ञानवद्र्धक हुन्थे, भन्नुहुँदै यात्रीले कर्णालीको सिँजा उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा गएर नेपाली भाषाका सामग्रीहरू बटुलेर नेपाली भाषाको ऐतिहासिक विविधता भरेको कुरा बताउनुभयो । प्रा.डा.बन्धुले अनुसन्धानका अग्रणी यात्रीका भाषा, साहित्य, मानवशास्त्रका सबै कृतिहरू महत्वपूर्ण र अति उपयोगी रहेका छन्, तिनका खोजी र प्रकाशन हुनुपर्नेमा जोड दिनुभयो ।
डा.रमेश शुभच्छुले पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रको विविध गतिविधिको जानकारी, पुरस्कृतव्यक्तित्व प्रा.डा.चूडामणि बन्धुको जीवनी र कृतिका बारेमा प्रकाश र लेखक वासुदेव दाहालको जीवनी कथाकृति ‘आफ्नै कथा व्यथा’ को व्याख्या र विश्लेषण प्रस्तुत गर्नुभएको थियो ।

पत्रकार पुरुषोत्तम दाहालले यात्रीका बारेमा अझै धेरै खोज र अनुसन्धान बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा भर्खरै विद्यावारिधि पूरा गर्नुभएका डा.अनुपमा रेग्मी, डा.समिना खनाल बुथा र डा.पवित्रा अधिकारीलाई यात्री अध्ययन तथा अनुसन्धान केन्द्रकोतर्फबाट सम्मान गरिएको थियो । त्यस अवसरमा यात्रीका विभिन्न सिर्जनाहरू पनि वाचन गरिका थिए ।



प्रतिक्रिया दिनुहोस्: